कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गत वर्षको चैतबाट लकडाउन घोषणा गरेपछि अन्य क्षेत्रसँगै फिल्म क्षेत्र पनि पूर्ण रुपमा बन्द भयो । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प हुँदा दैनिक श्रम गरेर गुजरा चलाउने प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या भएको थियो । लकडाउन लम्बिँदै गएपछि कलाकारहरुलाई पनि आर्थिक समस्याले गाँज्न थाल्यो ।
दुई चरणको बन्दाबन्दीपछि ठूलो संख्यामा म्यूजिक भिडियो निर्माण हुन थाले, जसले गर्दा फिल्म निर्माण नभएर आर्थिक अभाव झेलिरहेका प्राविधिकदेखि कलाकारहरुलाई ठूलो राहत मिल्यो । पुषबाट भने फिल्म निर्माणले पनि गति लिन थालेको छ । सरकारले सिनेमा हल सञ्चालन र फिल्म छायांकनका लागि अनुमति दिएपछि अहिले फिल्म क्षेत्रमा चहलपहल छाएको छ ।
नयाँ फिल्म प्रदर्शन नहुँदा सिनेमा हलहरु दर्शकविहीन भए पनि फ्लोरमा फिल्मको कमी छैन । सरकारले छायांकन अनुमति दिनुभन्दा अगावैदेखि फिल्म छायांकन सुरु भएको थियो । कानुनी रुपमै सरकारले छायांकन अनुमति दिएपछि भने फिल्म निर्माणमा बाढी नै आएको छ । अहिले बजारमा क्यामेरा, लाइटलगायतका उपकरणहरुको समेत अभाव देखिन थालेको छ ।

प्राविधिकहरुलाई दिनहुँ फिल्म र म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ छ । अहिलेका चल्तीका कलाकारहरु पनि १/२ वर्षका लागि प्याक भइसकेका छन् । जसले गर्दा निर्माणको तयारीमा रहेका कति फिल्मको छायांकन समेत पछाडि सारिएको छ । लकडाउनपछि एक दर्जन बढी फिल्मको छायांकन पूरा भइसकेको छ भने अहिले फ्लोरमा आधा दर्जनभन्दा बढी फिल्म छन् ।
करीब २० दिन अगाडि पोखराबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन सुरु भयो । नायिका ऋचा शर्माले निर्माण तथा अभिनय गरिरहेको फिल्म ‘कौसिद’ को पनि अहिले धमाधम छायांकन भइरहेको छ । अभिनेता मुकुन भुषाल स्टारर फिल्म ‘गणपति’ को छायांकन सुरु भएको पनि २० दिनभन्दा बढी भइसकेको छ ।
त्यस्तै, अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन अन्तिम चरणमा पुगेको छ । अहिले पोखरामा फिल्मको छायांकन भइरहेको छ । बिहीवारबाट फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को छायांकन पनि सुरु भएको छ । यसमा सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, सृष्टि श्रेष्ठलगायत छन् ।
फिल्म ‘हिँड्दा हिँड्दै र ‘चुरीफुरी’ को छायांकन भने अन्तिम चरणमा पुगेको छ । योसँगै अन्य केही फिल्मका छायांकन पनि अहिले गुपचुप रुपमा भइरहेका छन् । छायांकनको तयारीमा भने ‘सत्यम्, प्रकाश, जिन्दाबाद, गोर्खा वारियर २, सुदूर, बिहे पास, फटाह फणिन्द्रे, घिन्ताङ, हिमानी, चिसो मान्छे, तिमीसँगै हुने मन छ, बनवास, चिलगाडी, बोक्सीको घर’ लगायतका फिल्म रहेका छन् ।

