अभिनेत्री श्वेता खड्कालाई माझी बस्ती निर्माण र श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ। उनले माझी बस्तीबाट हात झिकेको भन्ने खबरहरू पनि आईरहेको छ। आफूमाथि लागेको आरोपको खण्डन गर्दै श्वेताले फेसबुकमा निकै लामो वक्तव्य जारी गरेकी छन्। श्वेताले जारी गरेको वक्तव्य यस्तो छ-
अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन्। 'श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरूसँगै माझी बस्तीका केहि ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन्। यसरी प्रकाशित र प्रशारित ति समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु।
३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्नेहरुको लर्को थिएन। नत मसँग प्रशस्त धन नै थियो। थियो त केवल आत्मविश्वास अनी शाहस। भूकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई। त्यसकै परिणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिहरूसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ।
भूकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर 'श्वेताले माझी बस्तीबाट हात उठाईन्' भन्ने भ्रामक समाचार आउनु आँफैमा हाँस्यास्पद छ। मैले यसलाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु। माझी बस्ती भित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर "श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ" भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो।

५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेको छु। माझी बस्ती भित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनि टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानिछानि अन्तर्वाता लिएर एकिकृत बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यसलाई माझीटोलका अधिकांश ब्यक्तिहरुले पनि राम्ररी बुझेका छन्। नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ।
मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेको छु। तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेको छ त्यसको बारेमा झिनो जानकारी समेत नलिई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो? यही आरोपलाई झुटो सावित गर्नका निमित्त म यथासिघ्र प्रेसमिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्ने नै छु।
हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन्, 'तैले त्यो बस्तिमा के योगदान गरिस् ?" मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु। बिभिन्न दाताले घर बाहेकका पूर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक सिंहदरवार धाएको छु। कैयौ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पश्चात मात्र माझिटोलमा सहयोगहरु पुगेको हो।
बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरूसँग नडराइ अनि हरेश नखाई जुधेको छु। जीवनमा कसैसँग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकी छु। तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन। मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन। माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु। विश्वाश छैन भने स्थानिय उपभोक्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ। हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ। यो परियोजना माझीटोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्थानिय उपभोक्ता समितीसँग भलाकुसारी गर्नुपर्ने हुन्छ।

बस्ती निर्माण पूर्व नै ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासी नै हुन्। नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रैबाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अति सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो। घर निर्माणको लागि प्राविधीकहरुले तयार गरेको अनुमानित लागत रु ८ लाख २५ हजार थियो। केही दाताहरुले ढोका लगायत जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन्। र, घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो ।
सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु. ४ लाख ऋण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सहमती जुटाउने पनि स्थानिय उपभोक्ता समिति नै हो। याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ। अत: यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनि पूर्वसहमती भएकै हो। घर बाहेकका नयाँ पूर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बालबगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्थानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो। आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकै छ।
अत: घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नुपर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही व्यक्तिले अहिले आएर आफूलाई "नयाँ घर घाँडो भएको" भन्नु कतिसम्मको जायज हो? सार्वजनिक निजी साझेदारी (Public-Private-Partnership) मोडालिटी अनुरुप जनताको पनि लगानी रहने गरी तयार गरिएको एकिकृत बस्ती विकाशको यो मोडल 'दिगो विकाश'को सफल मोडल पनि हो। 'एनजिओहरुले सबै कुरा गरिदिनु पर्छ' भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागिता र लगानीलाई आत्मसाथ गरिएको हो।
४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ। बस्ती निर्माणपूर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेको छ। ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरु छन्। त्यसो त, माझिहरुले बोकेको ऋणको भारी तिर्नको लागि 'होम स्टे'को परिकल्पना गरिएको छ जसले स्वरोजगार सृजना भई आम्दानीको स्रोत हुनेछ र ऋण तिर्नको लागि सहजता आउनेछ। यसको लागि भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ। अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यसको बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला?
यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पूर्वाधारहरु मात्र बनेका छैनन्। बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानियवासिहरुले आफूमा आएको मानसिक र बौद्दिक बिकासको मुल्याँकन पनि गर्नुपर्ने हुन्छ। बनाएको घर भात्किन्छ तर मानसिक शसक्तिकरण कहिल्यै भत्किंदैन।
अत: बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो। मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो। म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन। 'माझी टोलबाट हात झिकी' भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु, "जवसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन।" मेरो अन्तिम इच्छा "म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहिं गरियोस्।"
उही तपाईंकी छोरी /चेली
श्वेता खड्का

