Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीवाकरलाई प्रश्न- ‘नेपालमा हिरो नै नभएका हुन् ?’

फिल्मीखबर, काठमाण्डौ, 2021/02/12
निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा प्रायः स्टार कलाकार हुने गरेका छन् । फिल्म ‘स्टुपिड मन’ मा त्यसबेलाका चल्तीका दुई अभिनेता जीवन लुईटेल र नीरज बराललाई एक्सन-कट गरेका उनले फिल्म ‘ऐश्वर्या’ मा एक समयमा स्टार अभिनेता रमेश उप्रेतीसँग काम गरेका थिए । त्यस्तै, फिल्म ‘क्याप्टेन’ मा उनले अहिलेका हटकेक अभिनेता अनमोल केसीलाई निर्देशन गरे ।
 
यतिबेला उनी नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ को तयारीमा छन् । यो फिल्मका लागि एक वर्ष अगाडि दीवाकरले अभिनेता द्वय पल शाह र निराजन प्रधानसँग कुराकानी गरेका थिए । पल र निराजनसँँग उनको मौखिक सहमति नै भएको थियो । तर, अब यो फिल्ममा भारतीय कलाकार रोहित सुचान्तीको प्रवेश भएको छ । निर्माण टिमले बिहीवार यसबारेमा जानकारी दिएको हो । 
 
सुचान्तीले ‘तुने प्यार क्या किया’, ‘रिश्ता लिखंगे हम नयाँ’ जस्ता टेलिसिरियलमा काम गरिसकेका छन् । उनले ‘बोग बोस १२’ मा समेत भाग लिएका थिए । गएको महिना भारत भ्रमणको क्रममा दीवाकरले उनीसँग कागजी सम्झौता गरेका हुन् । अब ‘तिमीसँगै हुने मन छ’ मा सुचान्तीले अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछ । फिल्मको छायांकन आउँदो चैत पहिलो साताबाट हुनेछ ।
 
 
निर्देशक भट्टराईले फिल्मका लागि भारतबाट हिरो झिकाउनुले नेपालमा राम्रो हिरो नै नभएका हुन् त ? भन्ने प्रश्न उब्जाएको छ । यसबारेमा उनी भन्छन्, ‘नेपालमा हिरो नै नभएका भन्ने होइन । कतिपय अवस्थामा कथा र सिच्वेसनको माग हुन्छ । अनि अर्को कुरा नेपालका सबै हिरो व्यस्त छन् । एक-दुई वर्षसम्म प्याक छन् । उहाँहरुलाई २ वर्ष कुर्न म बेरोजगार बस्न पनि त भएन ।’
 
आफू लभस्टोरी फिल्म बनाउने भएकाले त्यस प्रकारको भूमिकामा फिट हुने हिरो नेपालमा सीमित भएको उनको भनाई छ । आफूले नयाँ अनुहार लिन खोजे पनि नपाएको उनी बताउँछन् । ‘नयाँबाट पनि नपाएपछि मसँँग अप्सन भएन । नेपालमा हिरो नै नभएर बाहिरको कलाकार खोजेको होइन । नेपालका हिरो सबै व्यस्त भएपछि बाहिरको हिरो रोज्न बाध्य भएको हुँ,’ उनले भने ।
 
फिल्ममा सुचान्तीलाई अनुबन्ध गर्नुको कारण कथाको माग रहेको उनी बताउँछन् । फिल्मको मुख्य भूमिकामा भारतीय कलाकार भए पनि भाषागत समस्या आउने खालको क्यारेक्टर नभएको उनको भनाई छ । उनका अनुसार, सुचान्ती नेपाल आएपछि वर्कसपमा भाषाको विषयमा छलफल हुनेछ । यो फिल्ममा छायाँकारदेखि अन्य टेक्निकल टिम समेत भारतबाट आउनेछन् । 
 
चाँडै टि-सिरिजको नयाँ फिल्ममा पनि काम गर्ने तयारीमा रहेका सुचान्तीलाई दीवकारले आफ्नो फिल्मका लागि मोटो रकम तिरेका छन् । उनी भन्छन्, ‘पैसाको कुरामा यहाँको कलाकारभन्दा महंगो त पर्छ नै । त्यसमाथि उहाँ नयाँ अनुहार पनि होइन । उहाँलाई तिरेको रकममा मलाई घाटा छैन र उहाँ पनि सन्तुष्ट हुनुहुन्छ । उहाँलाई तिरेको जति मलाई आउटपुट छ भन्ने लागेको छ ।’ 
 
नेपाली फिल्मलाई ग्रेडको हिसाबले माथि लैजान आफूले भारतको टिमसँग काम गर्न लागेको उनी बताउँछन् । नेपाली फिल्म पनि स्तरीय बन्दो रहेछ भन्ने माहोल बनाउन आफूले चुनौती मोल्न लागेको उनको भनाई छ । दीवाकर ‘तिमीसँगै हुने मन छ’ लाई भारतमा पनि प्रदर्शन गर्ने तयारीमा छन् । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म प्रेमकथामा आधारित हुनेछ ।
Most Visited News (monthly)