
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा कसलाई थाहा नहोला र ! तीन वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेको यो जोडी पर्दामा समेत छुटिन सकेको छैन । फिल्म ‘मासु भात’ बाट सुरु भएको उनीहरुको सहकार्यले ‘पोइ पर्यो काले, माइकल अधिकारी, तीन जन्तु’ सम्म निरन्तरता पायो । यो निरन्तरता टुट्ने छाँट भने देखिएको छैन।
अचेल सौगातले आफूलाई अफर हुने फिल्ममा सृष्टिलाई अभिनेत्रीको रुपमा सिफारिस गर्ने गरेको चर्चा छ । यसप्रकारको हल्लामा कुनै सत्यता नभएको दाबी गर्दै आएको यो जोडीलाई चाँडै नै ‘दि सेक्रेट्स अफ राधा’ नामक फिल्ममा देख्न पाईने छ। रोचक कुरा चाहिँ के छ भने फिल्मको निर्माता सौगात आफैं हुन् ।
बिहीवारबाट पालुङमा छायांकन सुरु भएको फिल्ममा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता दयाहाङ राई र निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि फिल्ममा विशेष भूमिकामा देखिनेछन् । सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको निर्देशन सुवर्ण थापाले गरिरहेका छन् ।
१५ दिन पालुङमा छायांकन गरेपछि निर्माण टिम बाँकी छायांकनका लागि काठमाडौं फिर्ने तयारीमा छ । स्टारकास्ट ठूलो भए पनि फिल्म भने सानो बजेटमा निर्माण हुने निर्देशक थापाले जानकारी दिए । सुवर्णले सौगात (आदियोगी भिजन) सँग सहकार्य गरेर निर्माण गरिरहेको फिल्मको छायाँकार नरेन्द्र मैनाली हुन् । काली प्रसाद बाँस्कोटाले संगीत भरेको फिल्ममा द्वन्द्व रहने छैन ।

