
फागुन २७ गतेबाट पोस्टपोन्ड भएर आउँदो चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नयाँ प्रदर्शन मितिसहित निर्माण टिमले सोमवार दोस्रो टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । उनलाई टिजरमा निर्माण टिमले ‘सुपरस्टार’ को ट्याग दिएको छ ।
५७ सेकेण्डको टिजरमा सौगातलाई भिन्न गेटअपमा देख्न सकिन्छ । फिल्ममा उनी डनको भूमिकामा रहेको टिजरले प्रस्ट्याउँछ । उनले टिजरमा भनेका छन्, ‘राजा बन्ने सौख सबैलाई हुन्छ, राजा बन्छस् या नोकर ?’ गत वर्ष निर्माण टिमले एक्सन प्याक्ड टिजरसँगै ‘झुसे बारुलो’ बोलको गीत यूट्युबमा सार्वजनिक गरेको थियो । फिल्मलाई मुकुन्द भट्टले निर्माण र निर्देशन गरेका हुन् ।
फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ (शिव श्रेष्ठका छोरा), प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
टिजर हेर्नुहोस् :-

