Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउँदै पूर्व राष्ट्रपति बाराक ओबामा

फिल्मीखबर, काठमाण्डौ, 2021/02/07
 
नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले नेटफ्लिक्ससँगको सहकार्यमा फिल्म निर्माण गर्न लागेको हो । जेनिफर पिडमले निर्देशन गर्ने फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ ।
 
सन् २००३ मा इद डग्लासले लेखेको ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित रहेर फिल्म निर्माण हुने नेटफ्लिक्सले जानकारी दिएको छ । फिल्म निर्माण भएपछि नेटफ्लिक्समा नै सार्वजनिक हुनेछ । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई फिल्मले देखाउनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले बताएका छन् ।
 
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो । 
 
हिमाल आरोहणबाट फर्केपछि तेन्जिङले दार्जिलिङमा हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट संस्थाको फिल्ड ट्रेनिङ निर्देशक भएर काम गरेका थिए । यो भूमिका उनलाई भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले दिलाएका हुन् । उनकै अगुवाइमा सो संस्थाको स्थापना भएको थियो । त्यसबेला नेहरुले भनेका थिए, ‘तेन्जिङ, अब तिमीले हजार तेन्जिङ जन्माउनुपर्नेछ ।’ 
 

Most Visited News (monthly)