Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताको चिन्ता- ‘नेताहरुको कहिले बुद्धि पलाउला ?’

फिल्मीखबर, काठमाडौं, 2021/02/07
 
अभिनेत्री नीता ढुंगानाले देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् । भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि भारतको ताजनगरी आगरामा रहेकी उनले देश र जनताको हितमा काम गर्ने भनेका नेताहरुले जनतालाई नै दुःख दिने गरेको बताएकी छन् । देशभन्दा आफ्नो लागि सोच्ने नेताहरु धेरै भएका कारण जनताले दुःख पाएको उनको गुनासो छ ।
 
आइतवार फेसबुक लाइभमा आफ्नो विचार राख्ने क्रममा उनले भनिन्, ‘देशको अहिलेको स्थिति देखेर कोही खुसी छैन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो भएको छ । देशलाई कसरी विकास गर्ने भन्नेमा नेताहरु कहिल्यै चिन्तित देखिन्नन् । सबै आफ्नो कुर्सी कसरी जोगाउँ भन्नेमा छन् । नेताहरुको कहिले बुद्धि पलाउला ! अब देश विकास गर्न राम्रा मान्छे आउन आवश्यक छ ।’
 
देशमा गणतन्त्र, लोकतन्त्र र राजतन्त्र सबै आवश्यक रहेको औंल्याउँदै उनले अगाडि थपिन्, ‘अहिले यो मान्छे सही र अरु सबै गलत भनेर भन्दिनँ । तर, केपी सरकारको अहिलेको निर्णयहरु केही हदसम्म सही र केही हदसम्म गलत छन् । उहाँलाई जनताको राम्रो साथ रहेको देखेँ । उहाँका केही कुराहरु राम्रा छन् । अब कसरी हुन्छ देश र जनताका लागि राम्रो गर्नुपर्‍यो ।’ 
 
नीताले नेताका भाषणहरुलाई जनताले मजाकको रुपमा लिने गरेको र आफूले पनि मजाककै रुपमा लिएको बताइन् । ‘अहिले नेताहरुले दोहोरी खेलेको जस्तो लाग्छ । देशलाई नेताहरुले खेलौना सम्झिएका छन् कि जस्तो लाग्छ,’ उनी प्रश्न गर्दै भन्छिन्, ‘समृद्ध नेपाल कहिले बन्ने होला ? ढुक्कले काम गरेर हिँड्ने अवस्था कहिले आउला ?’ उनले नेताहरुलाई सच्चिन पनि आग्रह गरेकी छन् ।
Most Visited News (monthly)