Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्राइडे रिलिजमा चिनियाँ सुपरहिरोइन फिल्म ‘मूलन’

फिल्मीखबर, काठमाडौं, 2021/02/05
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत पहिलो साताबाट लकडाउन घोषणा गरेपछि अन्तिम समयमा प्रदर्शन रोकिएको चिनियाँ सुपरहिरोइन फिल्म ‘मूलन’ शुक्रवारबाट नेपालका मल्टीप्लेक्सहरुमा प्रदर्शनमा आएको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । विदेशी बजारमा प्रदर्शन भइसकेको यो फिल्म नेपाली दर्शकमाझ प्रतिक्षीत थियो । 
 
‘मूलन’ ले नेपालका मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर शुक्रवार र शनिवार गरी १९ सोज प्रदान गरेको छ । त्यस्तै, वान सिजेमाजले तीन सोज, क्यूज सिनेमाजले चार सोज, एफक्युब सिनेमाजले तीन सोज, सिडिसी सिनेमाजले दुई सोज, विएसआर मुभिजले दुई सोज, आईएनआई सिनेमाले दुई सोज बाँडेका छन् ।
 
 
निकि कारो निर्देशित फिल्म चिनियाँ दन्त्यकथामा आधारित छ । लियू यीफी, जेट ली, डोनी येन, गोङ ली, जेसन स्कट ली जस्ता विश्व प्रख्यात कलाकारहरुको अभिनय रहेको फिल्म २ सय मिलियन डलरमा निर्माण भएको थियो । ‘द बालाड अफ मुलान’ भन्ने चिनियाँ कथामा फिल्म आधारित रहेको छ । यो फिल्मले दर्शकको एउटा ठूलो वर्गलाई हलसम्म तान्न अपेक्षा गरिएको छ । 
 
कोरोनाका कारण ९ महिनासम्म बन्द भएका सिनेमा हल पुष १० गतेबाट खुलेका  हुन् । कोरोनाको प्रवाह नगरी सवारी साधन, सडक, बजार लगायतका स्थानमा देखिएको मानिसको भीडभाडले हलमा पनि दर्शकहरु फिल्म हेर्न आउनेमा हल सञ्चालकहरु विश्वस्त थिए । तर, खुलेको दिनदेखि सिनेमा हल दर्शकविहीन छन् । साउथ फिल्म ‘मास्टर’ ले समेत हलमा दर्शक तान्न सकेन ।
 
माघ १ गतेबाट प्रदर्शनमा आएको अभिनेता शिव श्रेष्ठ निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले हलमा दर्शकको चहलपहल बढाउने अपेक्षा गरिएको थियो । तर, योे फिल्मले प्रदर्शनको दिनदेखि नै दर्शकको खडेरी भोग्नुपर्‍यो । फिल्म हेर्ने एक जना पनि दर्शक नभएपछि क्यूएफएक्सले शिवको फिल्मलाई ११ दिनमै हटाएको थियो । अब सबैको आश चैत २७ मा छ । 
 
यो मितिमा तीन फिल्म प्रदर्शन आउँदैछन् । अभिनेता पुष्प खड्का अभिनीत दुई फिल्म ‘मनसँँग मन र कृष्ण लीला’ सँगै मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ चैत २७ मा प्रदर्शन हुँदैछ । यी तीन फिल्ममध्ये कुनै एकले त अवश्य दर्शकलाई हलसम्म तान्छ भन्ने विश्वासमा हल सञ्चालक छन् । आशा गरौं, चैत २७ का तीन फिल्म दर्शकलाई हलमा फर्काउन सफल हुनेछन् । 
Most Visited News (monthly)