
हलिउड फिल्मलाई भारतीय दर्शकले निकै रुचाउने गरेका छन् । तर, केही फिल्म यस्ता छन्, जुन उनीहरुको मनसँग निकै नजिक छ । किनकि, ती फिल्ममा भारतीय कलाकारहरुले अभिनय गरेका छन् । यसमध्ये एक हो, फिल्म ‘जुरासिक वर्ल्ड’ । यसमा दिवंगत अभिनेता इरफान खानले काम गरेका थिए । यो फिल्ममा उनले आफ्नो कामबाट दर्शकलाई प्रभावित गरेका थिए ।
‘जुरासिक वर्ल्ड’ जुरासिक पार्क फिल्म सिरिजको चौथो पार्ट हो । इरफान खानले एक अन्तर्वार्तामा भनेका थिए, ‘१९९३ मा आएको यो सिरिजको पहिलो फिल्म हेर्नका लागि मसँग पैसा थिएन । त्यसबेला म अभिनयमा संघर्ष गरिरहेको थिएँ । २०१५ मा आएको ‘जुरासिक वर्ल्ड’ मा भने मैले पार्कको मालिकको भूमिका निर्वाह गरेँ । मेरो लागि योभन्दा ठूलो खुसीको कुरा अरु हुनै सक्दैन ।’
कलिन ट्रेवोरोको निर्देशनमा बनेको फिल्म ‘जुरासिक वर्ल्ड’ मा इरफानका अलावा क्रिस प्राट, ब्रायस डलास हवर्ड, विन्सेन्ट डी अनफिरो, उमर सी, निक रबिन्सन जस्ता विश्व प्रख्यात कलाकारहरुले काम गरेका थिए । ५३ वर्षको उमेरमा भारतको कोकिलाबेन अस्पतालमा निधन भएका इरफान अभिनयमा उत्कृष्ट मानिन्थे । उनले कयौं फिल्ममा जीवन्त अभिनय गरेका छन् ।

