.jpg)
राजनीतिक परिदृश्यमा देखिएको पछिल्लो अवस्था र प्रतिनिधिसभाको विघटनपश्चात् सिर्जित राजनीतिक अस्थिरताले आम मानिसमा राजनीतिप्रति विश्वास र भरोसाभन्दा वितृष्णा जगाएको छ । प्रतिनिधिसभाको विघटनपछि राजनीतिमा एकअर्काप्रति आरोप, अपमान, लाञ्छना, व्यक्तिगत आक्रमण हुनु सामान्य भएपछि नेपाली कलाकारहरुले पनि चिन्ता व्यक्त गर्न थालेका छन् ।
अभिनेत्री वर्षा सिवाकोटीले देशको पछिल्लो राजनीतिक अवस्थाबाट दुखी भएको बताएकी छन् । देश र जनताको हितको लागि गरिनुपर्ने राजनीति आजको समयमा पद, पैसा र निजी स्वार्थले दूषित भएको उनको गुनासो छ । बुधवार उनले फेसबुकमा लेखेकी छन्, ‘राजनीतिमा एकअर्काको अपमान गर्नु, व्यक्तिगत आक्रमण गर्नु, लाञ्छना लगाउनु सामान्य भएको देख्छु, दुख लाग्छ ।’
उनी अगाडि लेख्छिन्, ‘सम्मानजनक राजनीति, जहाँ विपक्षीको विचारको आलोचना मात्र हैन, विवेकपूर्ण विश्लेषण र विमर्श होस् । राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा होस् । जनताको मतको मान होस् । कामप्रति निष्ठा र इमानदारिता होस् । यस्तो राजनीति आज कल्पनामा मात्र सीमित रह्यो ।’ यसरी समृद्ध नेपालको अवधारणा कसरी सफल हुन्छ भनेर पनि उनले प्रश्न गरेकी छन् ।
उनले राजनीतिको यो रूप देखिरहन नपरोस् भन्दै देशले चाँडै समृद्धिको बाटो पछ्याउने विश्वास व्यक्त गरेकी छन् । विभिन्न सामाजिक र राजनीतिक विषयमा आफ्नो विचार राख्ने गरेकी वर्षा केही दिनदेखि सविन जंग थापासँगको ब्रेकअपका कारण चर्चामा छिन् । सविनले इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई अप्ठ्यारो समयमा साथ दिनुको सट्टा धोका दिएको आरोप लगाएका छन् ।

