Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

४७ वर्षकी भइन् करिश्मा

फिल्मीखबर, काठमाडौं, 2021/02/04
सदावहार अभिनेत्री करिश्मा मानन्धर बिहीवारबाट ४७ वर्षमा प्रवेश गरेकी छन् । २०३० साल माघ २२ गते काठमाडौँ, बत्तीसपुतलीमा जन्मिएकी उनको वास्तविक नाम भने बुनु केसी हो । १४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी उनले फिल्ममा आएपछि नाम परिवर्तन गरेर करिश्मा राखेकी थिइन् । एक समय उनी नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री झैँ थिइन् । 
 
प्रकाश थापा निर्देशित फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माले यसपछि करिअर कहिल्यै फर्केर हेर्नुपरेन । ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ लगायतका फिल्मले उनको करिअर उत्कर्षमा पुर्‍यायो । एक समय उनले त्यसबेलाका चल्तीका हिरो बराबर पारिश्रमिक बुझ्ने गरेको चर्चा समेत चल्ने गरेको थियो ।
 
 
पहिला दुई फिल्म ‘सन्तान’ र ‘मायालु’ मा आफूले अभिनय नभइ क्यारिकेचर गरेको बताउने उनले त्यसपछि सात महिना मुम्बई गएर मधुमति डान्स सेन्टरमा नृत्य र अभिनय समेत सिकेकी थिइन् । यसपछि नेपाल फर्किएर लगातार फिल्ममा काम गर्न लागेकी उनको अभिनेता राजेश हमालसँग ‘केमेस्ट्री’ अत्याधिक रुचाइयो । उनीहरुले एकसाथ कयौं सुपरहिट फिल्ममा काम गरेका छन् ।
 
करिश्माले अभिनयसँगै फिल्म निर्माणमा पनि हात हालेकी छन् । उनले निर्माण गरेको फिल्म ‘ढुकढुकी’ निकै सफल भएको थियो । तर, ‘बाबुसाहेब’ ले ठूलो घाटा बेहोरेपछि उनी निराश भएर २०६१ सालमा अमेरिका पलायन भइन् । करीब ९ वर्ष उनको अमेरिकामा नै वित्यो । यसपछि नेपाल फर्किएर पुनः अभिनयमा सक्रिय भएकी उनी अचेल भने अभिनयबाट निस्क्रिय झैँ छिन् । 
 
४० लागेपछि विद्यालयमा गएर अध्ययन गरी एसईई उत्तिर्ण गरेकी उनी हाल प्लस टूमा अध्ययनरत छिन् । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर समेत सुरु गरेकी उनले दुई वर्षअघि यो पार्टी परित्याग गरेकी थिइन् । अहिले उनी कुनै पार्टीमा आबद्ध छैनन् । तर, विभिन्न सामाजिक र राजनीतिक विषयमा उनले आफ्नो विचार राख्ने गरेकी छन् ।
 
१८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह गरेकी उनले २१ वर्षको उमेरमा पहिलो सन्तानको रुपमा छोरी कवितालाई जन्म दिएकी थिइन् । उनले छोरीलाई समेत आफूले हिँडेको बाटोमा ल्याएकी छन् । अर्थात्, कविता नेपाली फिल्मकी अभिनेत्री बनिसकेकी छन् । उनको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आइसकेको छ भने चाँडै ‘बनवास’ मा काम गर्दैछिन् ।
 
नेपाली फिल्मकी सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई फिल्मीखबर परिवारको तर्फबाट जन्मदिनको शुभकामना ।
Most Visited News (monthly)