
‘हिम्मतवाली’ फेम्ड अभिनेता रविन्द्र प्रताप सेन स्टारर फिल्म ‘गोर्खे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । केही दिनअघि शीर्ष गीत सार्वजनिक गरेको निर्माण टिमले आउँदो फागुन २१ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । दर्शकहरु सिनेमा हलसम्म पुग्ने माहोल राम्रो बन्दै गएका कारण फागुनमा फिल्म प्रदर्शन गर्न लागेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले जानकारी दिए ।
प्राविधिकहरुले मिलेर निर्माण गरेको फिल्मले गोर्खाली सैनिकको बहादुरीको कथा भन्छ । किम्मत गौतम निर्देशित फिल्ममा रविन्द्रसँगै अञ्जली अधिकारी, अर्जुन गुरुङ, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारहरुको पनि अभिनय छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले फिल्मको निर्माण गरेका हुन् ।
गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गर्ने फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि. गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ । पोखरा, काठमाडौंलगायतका स्थानमा खिचिएको फिल्मको ‘सिन्की अचार’ बोलको गीत चर्चामा छ । यो फिल्मले सिनेमा हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ ।

