
निर्देशक तथा कलाकार सुवर्ण थापा लामो समयपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतका फिल्मको निर्देशन गरिसकेका उनी अब ‘दि सेक्रेट्स अफ राधा’ नाममा नयाँ फिल्म बनाउने तयारीमा छन् । यही माघ २६ गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ । केही दिनअघि मात्र निर्देशक थापाको टिम लोकेशन हेर्न निस्किएको थियो ।
निर्देशक थापा आफैंले निर्माण गर्ने फिल्ममा अहिलेका चल्तीका कलाकारहरुको अभिनय रहने जानकारी प्राप्त छ । सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत र खगेन्द्र लामिछानेको फिल्ममा मुख्य भूमिका रहने स्रोत बताउँछ । तर, यस बारेमा निर्देशक थापाले कुनै जानकारी दिएका छैनन् । उनले केही दिनमा फिल्मको औपचारिक निर्माण घोषणा गरेर कलाकार सार्वजनिक गर्ने बताए ।
उनले फिल्ममा सौगात, दयाहाङ, निश्चल र खगेन्द्र फाइनल भएको कुरा नकार्न भने सकेनन् । निर्देशक थापाको मौनताले उनीहरु फिल्ममा अनुबन्ध भएको कुरालाई पुष्टि गरेको छ । केही हप्तादेखि फिल्मको वर्कसप चलिरहेको छ । फिल्मलाई सुवर्ण र सौगात मल्लले मिलेर निर्माण गर्नेछन् । सौगातले यसअघि फिल्म ‘मासु भात’ पनि निर्माण गरेका थिए, जुन प्रदर्शनको पखाईमा रहेको छ ।
सुवर्णको एक्सन कटमा सौगातले ‘सुनगाभा, फन्को’ मा काम गरिसकेका छन् । उनीहरुको फिल्म ‘राम राम’ मा पनि सहकार्य हुँदै थियो । तर, पछि सौगातले हात झिकेपछि फिल्म निर्माण हुन सकेन । अब ‘दि सेक्रेट्स अफ राधा’ मा उनीहरुबीच जुगलबन्दी भएको छ । पहिलो पटक सौगात, दयाहाङ, निश्चल र खगेन्द्रलाई एकसाथ पर्दामा हेर्न दर्शकहरुलाई निकै रोचक हुने देखिन्छ ।

