(2).jpg)
नेपाली फिल्म क्षेत्रमा जमिरहेका बेला भोजपुरी फिल्ममा काम गर्न थालेका अभिनेता विराज भट्टले चार वर्षपछि नेपाली दर्शकका लागि ‘साङ्लो’ लिएर आए । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । उनको आफ्नै निर्माण, निर्देशन र अभिनय रहेको फिल्मले प्रदर्शनको दुई दिन बक्सअफिसमा राम्रो पैसा छाप्यो । यसले उनको कमब्याक केही हदसम्म सफल बनाएको छ ।
‘साङ्लो’ भन्दा अगाडि फिल्म ‘जय परशुराम’ बाट उनी नेपाली फिल्ममा फर्किएका थिए । तर, यो फिल्म असफल भएपछि उनलाई पुनः नेपाली फिल्ममा फर्किन चार वर्ष लाग्यो । अब नेपाली फिल्मलाई निरन्तरता दिने बताएका विराज पुनः भोजपुरी फिल्ममा फर्किएका छन् । अहिले उनी बनारसमा एकै सेड्युलमा दुई फिल्म ‘क्रोध’ र ‘दिया बात्ती’ को छायांकन गरिरहेका छन् ।
भोजपुरी फिल्ममा बलियो स्टारडम बनाएका उनले पहिलेको जस्तै जोश र जाँगरमा काम गरिरहेको बताएका छन् । सन्तोष मिश्राले निर्देशन गरिरहेको ‘क्रोध’ मा विराजको अपोजिटमा अनुराधा र धिरेन्द्र कुमार झा निर्देशक रहेको ‘दिया बात्ती’ मा ऋचा दीक्षित छन् । फिल्म छायांकनको समयमा विराजलाई हेर्न र उनीसँग सेल्फी खिच्न दर्शकहरुको ठूलो भीड लाग्ने गरेको बताइएको छ ।
.jpg)
‘साङ्लो’ रिलिजको दुई महिनामा कोरोनाका कारण देश लकडाउन भएपछि विराज करीब ९ महिना परिवारसँग नेपालमा नै बसेका थिए । यो समयमा उनले ‘साङ्लो २’ को तयारी गरेको जानकारी प्राप्त छ । साइन गरेका भोजपुरी फिल्मको छायांकन पूरा गरेपछि उनी यो फिल्मको निर्माणमा जुट्ने बुझिएको छ । यसमा उनी अहिलेका एक चल्तीका अभिनेता लिने सोचमा छन् ।

