Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यूट्युबमा पनि ‘आमा’ को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2021/02/01
दीपेन्द्र के. खनाललाई दर्शक रुवाउन लाइसेन्स प्राप्त निर्देशक भन्ने गरिएको छ । फिल्मको माध्यमबाट दर्शकलाई रुवाउन उनी सिपालु मानिन्छन् । ‘पशुपति प्रसाद र आमा’ मा उठाएको विषयवस्तु र प्रस्तुतीले उनलाई उच्च कोटीको निर्देशकको रुपमा उभ्याएको छ । यी दुई फिल्मका कारण उनीप्रति दर्शकको अपेक्षा पनि चुलिएको छ । यो उनका लागि चानचुने चुनौती होइन ।
 
‘पशुपति प्रसाद’ पछि बजारु मसलाको पछाडि दौडिएको आरोप खेपेका निर्देशक खनाल ‘आमा’ बाट पुनः आफ्नो लयमा फर्किए । यसबाट उनले आफूलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरेका छन् । यो फिल्म व्यवसायिक रुपमा सफल मात्र भएन, समीक्षात्मक रुपमा पनि उत्कृष्ट ठहरियो । दर्शकबाट वाहवाही बटुलेको फिल्मले एक छोरीको त्याग र समर्पणको कथा भन्छ ।
 
 
गत वर्षको फागुनमा प्रदर्शनमा आएको यो फिल्म तीन दिन अगाडि यूट्युबमा सार्वजनिक भयो । हलमा फिल्म हेरेका दर्शकले जुन खालको प्रतिक्रिया दिएका थिए, यूट्युबमा त्योभन्दा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । मिथिला शर्मा र सुरक्षा पन्तको अभिनयसँगै फिल्मको कथावस्तुलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विशेषगरी फिल्मले विदेश बस्ने नेपालीलाई छोएको छ ।
 
यूट्युब रिलिजको तीन दिनमा १६ लाखभन्दा बढी भ्यूज पाएको फिल्मलाई ५४ हजार लाइक्स प्राप्त छ । साढे चार हजार बढी कमेन्टमा अधिकांशले फिल्मको प्रशंसामा शब्द खर्चिएका छन् । निजी अस्पतालमा उपचारको बहानामा घुमाएर हुने लुट प्रवृत्ति, बिरामीको आफन्तको बाध्यता र समाजबाट लोप हुँदै गएको मानवतालाई निर्देशक खनालले मनछुने ढंगबाट देखाएका छन् । 
 
यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । पाइरेसीको शिकार भएपछि निर्माण टिमले सिनेमा हलमा रिलिजको ११ महिनामै यूट्युबमा फिल्म रिलिज गरेको हो ।
 
फिल्म हेर्नुहोस् :-
 

Most Visited News (monthly)