
स्वदेशी र विदेशी फिल्म छायांकनका लागि पहिलो रोजाई बन्दै गएको नेपालको मुस्ताङमा हलिउड फिल्म ‘ब्ल्याक नर्सिसस’ खिचिएको छ । बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको फिल्ममा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री जेमा आर्टेटोन, ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ लगायतले अभिनय गरेका छन् ।
फिल्ममा बेलायती सिरिज ‘आवर गर्ल’ मा अभिनय गरेका सविन बस्नेत, दीपिका कुँवर, दीलिप राईलगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । अमेरिका र बेलायतमा रिलिज भइसकेको यो फिल्मको आधाभन्दा बढी छायांकन मुस्ताङको नौरीकोट र मुक्तिनाथ क्षेत्रमा गरिएको छ । यसका लागि गत वर्ष निर्माण टिम मुस्ताङमा तीन हप्ता बसेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा खिचिएको स्थानलाई लिएर चर्चा गरिरहेको छ । १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नर्सिसस’ मा फिल्म बनेको थियो र यसले दुई विधामा अस्कर अवार्ड पनि जितेको थियो । बिबिसीले यसैको रिमेक बनाएको हो । सन् १९३४ को पृष्ठभूमिमा बनेको फिल्मले स्कुल बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिक ननको कथा भन्छ ।

‘ब्ल्याक नार्सिसस’ का लागि सुटिङको व्यवस्थापन गरेको लोकेसन नेपालले निर्माण टिमलाई मुस्ताङदेखि इलामसम्मको लोकेसन देखाएको थियो । निर्देशक चारलोट ब्रुसले अन्तिममा मुस्ताङ र छेउछाउको एरिया कथाका लागि उपयुक्त ठम्याएपछि फिल्मको सुटिङ मुस्ताङ आसपासमा गरिएको थियो । शनिवार यो फिल्मको चलचित्र विकास बोर्डको सभा हलमा प्रिमियर गरिएको छ ।
ट्रेलर हेर्नुहोस् :-

