Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाजुराको भाषा र लवज सिक्दै स्वस्तिमा

फिल्मीखबर, काठमाण्डौ, 2021/01/31
 
फिल्म ‘बुलबुल’ बाट आफूलाई उच्च कोटीको अभिनेत्रीको रुपमा उभ्याएकी स्वस्तिमा खड्का आउँदो फागुन दोस्रो हप्ताबाट दीपेन्द्र के. खनालले निर्देशन गर्ने फिल्म ‘चिसो मान्छे’ मा काम गर्ने तयारीमा छिन् । यसमा उनी अहिलेसम्मकै फरक भूमिकामा देखिँदैछिन् । बाजुराकी एक विपन्न महिलाको भूमिकामा देखिन लागेकी उनी यसका लागि भाषा र लवज सिकिरहेकी छन् ।
 
लकडाउनमा निर्देशक खनालले स्वस्तिमालाई फिल्मको फस्ट ड्राफ दिएका थिए । त्यसबेलादेखि नै उनले पुस्तकदेखि यूट्युबमा भिडियो हेरेर सुदूर पश्चिम (बाजुरा) मा बोलिने भाषा, लवज, रितिरवाज, चालचलन, कला, संस्कृतिको बारेमा सिक्दै र जानकारी लिँदै आएकी थिइन् । एक हप्तादेखि भने बाजुराकी एक महिलाले उनलाई त्यस ठाउँको भाषा र लवज सिकाइरहेकी छन् ।
 
निर्देशक खनालले भने- ‘पहिलो चरणमा हामी काठमाडौंमा बसेर सुदूर पश्चिममा बोलिने भाषा र त्यसको इतिहासबारे बुझ्ने प्रयास गर्दैछौं । अहिले यहाँ पढाई जस्तो भइरहेको छ । यसपछि भने हामी बाजुरा नै जानेछौं ।’ स्वस्तिमाले केही दिनमा नै बाजुरामा बोलिने भाषा दुरुस्तै बोल्न थालेको उनले बताए । फिल्ममा स्वस्तिमाले बाजुराकी विवाहित महिलाको भूमिका निर्वाह गर्नेछिन् । 
 
निर्देशक खनालकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई उनी आफैंले खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मलाई अर्को वर्षको भदौ ११ गते प्रदर्शन गरिँदैछ । फिल्ममा अर्पण थापा र देशभक्त खनालको पनि मुख्य भूमिका रहनेछ । यात्रा संस्मरण भनिएको फिल्मले लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा वाचन गर्नेछ । 
Most Visited News (monthly)