Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

फक्रिन नपाउँदै मुर्झायो वर्षा र सविनको प्रेम

फिल्मीखबर, काठमाडौं, 2021/01/31
 
रंगिन दुनियाँमा कलाकारको प्रेम र ब्रेकअपको खबर नौलो होइन । कलाकारको प्रेम सम्बन्ध धेरै समय टिक्दैन समेत भन्ने गरिन्छ । संसारका हरेक फिल्म इन्डस्ट्रीमा  कलाकारको अभिनयभन्दा प्रेम र ब्रेकअपकै चर्चा बढी हुन्छ । नेपाली फिल्म क्षेत्र यसबाट कसरी अछुतो रहन सक्थ्यो र ? कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबरले फिल्म क्षेत्र नतातेको सम्भवतः कुनै महिना छैन । 
 
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा चलिरहेको समयमा गएको महिना अभिनेत्री साम्राज्ञी आरएल शाहको देवांश राणासँग ब्रेकअपको खबर बाहिरियो । यो जोडीसँगै अभिनेत्री वर्षा सिवाकोटीको पनि सविन जंग थापासँगको प्रेम सम्बन्धमा पूर्ण विराम लागेको छ । अर्थात् उनीहरुको प्रेम राम्रोसँग फक्रिन नपाउँदै मुर्झाएको छ ।
 
प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो । सविनले आफ्नो इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् । वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् । 
 
सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर, तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् । 
 
गत वर्षको दशैंबाट वर्षा र सविनबीच प्रेम अंकुराएको थियो । यस वर्षको दशैं मनाएर वर्षा सविनलाई भेट्न पुनः अमेरिका पुगेकी थिइन् । यसपटक भने उनले सामाजिक सञ्जालको माध्यमबाट खुलेरै प्रेम सम्बन्ध व्यक्त गरिन् । यति मात्र होइन, उनले अबको दुई वर्षभित्र विवाह गर्ने तयारी भएको समेत मिडियालाई जानकारी दिएकी थिइन् । तर, अब उनीहरुको प्रेममा विश्राम लागेको छ ।
 
Most Visited News (monthly)