Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रका व्यक्तिको कुकृत्य भण्डाफोर गर्ने शिव श्रेष्ठको चेतावनी

फिल्मीखबर, काठमाडौं, 2021/01/30
 
एक समयका चर्चित अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । ‘जीवन रेखा, ठुल्दाइ, चिनो, कान्छी, ट्रक ड्राइभर, धर्म संकट’ जस्ता एकसेएक उत्कृष्ट फिल्ममा काम गरेका उनी कुनै समय पाकिस्तानी फिल्मका पनि ठूला स्टार थिए । उनले पाकिस्तानी फिल्मबाट ५ वटा राष्ट्रिय अवार्ड समेत जितेका छन् । उनले प्रायः फिल्ममा एक्सन भूमिका निभाएका छन् । 
 
जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल शिव श्रेष्ठले फिल्म निर्माणमा समेत हात हालेका छन् । उनले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ यही माघ १ गतेबाट प्रदर्शनमा आएको थियो । यो फिल्मबाट उनका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यसकारण यो फिल्मप्रति धेरैको आशा, अपेक्षा र चासो थियो ।
 
कोरोनाका कारण बन्द भएका सिनेमा हल ९ महिनापछि खुल्दा कुनै निर्माताले नयाँ फिल्म प्रदर्शन गर्ने आँट गरेनन्, शिव श्रेष्ठबाहेक । धेरैले उनको हिम्मतको प्रशंसा पनि गरे । तर, फिल्म रिलिज भएपछि प्रशंसा गर्नेहरु कोही भेटिएन । किनकि, छायांकन समेत पूरा नभइ प्रदर्शन गरिएको फिल्म अत्यन्त कमजोर बनेको थियो । अन्ततः फिल्मले पनि हलमा घुँडा टेक्यो ।
 
शिव श्रेष्ठ जस्ता व्यक्तिले यस्तो फिल्म निर्माण गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै आलोचना भइरहेको छ । केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धरले समेत उनीप्रति कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । फिल्म रिलिज भएपछि आफूलाई लिएर भएका विभिन्न टिका टिप्पणीप्रति मौन रहेका शिवले शुक्रवार साँझ फेसबुकमा स्टाटस लेख्दै फिल्मकर्मीहरुलाई चेतावनी दिएका छन् ।
 
उनले केही दिनमा फिल्म क्षेत्रका बारेमा केही लेख्ने बताएका छन् । उनले लेखेका छन्, ‘नेपाली फिल्म क्षेत्रबारे केही लेख्दैछु । अनि यो क्षेत्रका विभिन्न व्यक्तित्वहरु र तिनीहरुको कुकृत्यहरुबारे भण्डाफोर समेत गर्दैछु, प्रतिक्षा गर्नुहोला ।’ शिव श्रेष्ठको यो स्टाटसले यतिबेला फिल्म क्षेत्रमा तरंग नै पैदा गरेको छ । उनले कस-कसको कुकृत्य भण्डाफोर गर्दैछन्, यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
 

Most Visited News (monthly)