कोरोना महामारीभन्दा अगाडि नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउनु भनेको ठूलो कुरा मानिन्थ्यो । गिनेचुनेका ब्यानर र स्टार कलाकारका फिल्मले समेत सोलो रिलिजको मौका पाउन गाह्रो थियो । एकै मितिमा दुईभन्दा बढी फिल्म बक्सअफिसमा भिड्ने गरेका थिए । जसले गर्दा लाखौं-करोडौंको लगानीमा बनेका कति फिल्मले त पोस्टरको समेत पैसा उठाउन सकेनन् ।
कोरोनाका कारण सरकारले लकडाउन गरेपछि बन्द भएको फिल्म निर्माण र प्रदर्शन करीब ९ महिनापछि बल्ल खुलेको छ । अहिले आधा दर्जन बढी फिल्म छायांकनमा छन् । तर, पुष १० गतेबाट खुलेका सिनेमा हलहरु भने दर्शकको पखाईमा छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ नचलेपछि नयाँ फिल्म प्रदर्शन गर्न निर्माता तर्सिएको अवस्था छ ।
अब फागुन दोस्रो साताभन्दा अगाडि हलमा नयाँ नेपाली फिल्म रिलिज हुने देखिन्न । फागुन २१ मा भने फिल्म ‘गोर्खे’ प्रदर्शनको तयारीमा छ । यसको एक हप्तापछि अर्थात् फागुन २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ भने पोस्ट प्रोडक्सनको काम नसकेको बहाना बनाउँदै एक महिना पछाडि सरेको छ । अब यो फिल्म चैत २७ मा प्रदर्शन हुनेछ ।

निर्देशक मुकुन भट्टले भिएफएक्स लगायतका काम नसकिएका कारण प्रदर्शन मिति सार्नु परेको बताए । उनले फागुनमा फिल्म रिलिज गर्ने जोखिम उठाउन नसकेको पनि स्वीकार गरेका छन् । उनले भने- ‘शिवरात्रीमा सोचेको जस्तो होला वा नहोला भनेर पनि प्रदर्शन पछाडि सरेका हौं । फिल्ममा लगानी ठूलो छ । फिल्म रिलिज गर्दै गर्दा निर्माताको कोणबाट पनि सोच्नुपर्ने हुन्छ ।’
अब यो फिल्मको बक्सअफिसमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ सँग भिडन्त हुनेछ । तर, यो मितिमा अरु फिल्मले प्रदर्शन मिति घोषणा गरेको बारेमा आफूलाई जानकारी नभएको निर्देशक भट्ट बताउँछन् । रोचक कुरा चाहिँ के छ भने उनी ‘लप्पन छप्पन २’ प्रदर्शनपछि पुष्पलाई लिएर एउटा एक्सन फिल्म निर्माण गर्ने तयारीमा छन् ।
फिल्म प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त मानिने भएका कारण पनि ‘लप्पन छप्पन २’ ले चैत २७ को मिति रोजेको हो । यो मितिमा फिल्म ‘कृष्ण लीला’ पनि आउने चर्चा छ । यसरी हेर्दा यसपालीको नयाँ वर्षमा नेपाली फिल्मबीच भाले जुधाई हुने देखिन्छ । कोभिडका कारण धरासायी भएको फिल्म क्षेत्रलाई उठाउन फिल्म रिलिज व्यवस्थित गर्नुपर्ने समयमा झन् भद्रगोल हुने देखिएको छ ।
पुरुषोत्तम प्रधानले खिचेको ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाललगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।

