समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निर्वाह गरेपछि चर्चामा आएका मुकुन भुषालको बिहीवार जन्मदिन हो । यसपालीको जन्मदिन उनले फिल्म ‘गणपति’ को सेटमा मनाएका छन् । बिहीवार विहान फिल्मको टिमसँग ‘होममेड’ केक काट्दै उनले जन्मदिन मनाएका हुन् । आफ्नो जन्मदिन विशेष बनाएकोमा उनले निर्माण टिमलाई धन्यवाद दिएका छन् ।
.jpg)
ओस्कार कलेजबाट फिल्ममा स्नातकसम्मको अध्ययन पूरा गरेर भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमा स्नातकोत्तर गरेका मुकुनले ‘बुलबुल’ बाट अभिनय करिअर सुरु गरेका हुन् । यो फिल्ममा गरेको जीवन्त अभिनयले उनलाई उच्च कोटीको अभिनेताको रुपमा स्थापित गरेको छ । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन ।
‘बुलबुल’ पछि उनले ‘झिँगेदाउ, बिच्छेद’ लगायतका फिल्ममा काम गरिसकेका छन् । ‘गणपति’ पछि उनी फिल्म ‘भाँडाकुटी’ को छायांकनमा व्यस्त हुने तयारीमा छन् । फुर्सदको समयमा विभिन्न फिल्म कलेजमा अभिनय सम्बन्धि अध्ययन पनि गराउँदै आएका मुकुनको ‘गणपति’ मा अभिनेत्री मेनुका प्रधानसँग जोडी बाँधिएको छ । फिल्मलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् ।
.jpeg)
निर्देशक अधिकारीकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् । फिल्ममा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु महर्जन, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एललाई पनि अभिनय गर्दै देख्न पाइनेछ । फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ ।

