
अभिनेता बबी देओल बुधवारबाट ५२ वर्षका भएका छन् । उनले १९९५ मा आएको फिल्म ‘बरसात’ बाट बलिउड इन्डस्ट्रीमा आफ्नो पाइला गरेका थिए । बादलको चरित्रमा गरेको जीवन्त अभिनयले उनलाई पहिलो फिल्म नै चर्चा ल्यायो । उनले यो फिल्मबाट फिल्मफेयर बेस्ट डेब्यूको अवार्ड पनि हात पारे । करिअरको सुरुवातमा उनले कयौं उम्दा फिल्ममा काम गरेका थिए ।
तर, विस्तारै उनलाई राम्रो फिल्मबाट प्रस्ताव आउन छाड्यो । जसले गर्दा उनले मदिराको सहारा लिन थाले । बबीले एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले यति धेरै मदिरा सेवन गर्न थालेको थिएँ कि मलाई आफैंप्रति दया लाग्थ्यो । म सोच्थेँ कि आखिर ममा के कमी छ, जसले गर्दा मसँग कोही काम गर्न चाहँदैनन् । मैले मदिराको सहारा लिएर आफैंलाई सबैभन्दा टाढा बनाएको थिएँ ।’
हफिंग्टन पोस्टसँगको अन्तर्वार्तामा उनले बच्चाको खातिर आफूले फिल्ममा कमब्याक गरेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘मैले खराब समयमा आफ्नो बच्चाको अनुहार हेरेँ र सोचेँ कि उनीहरु मेरो बारेमा के सोच्छन् होला । यो कुरा मैले आमा र पत्नीको आँखामा देखेको थिएँ । यो महशुस भएपछि मैले आफैंलाई गाली गर्न थालेँ कि किन मैले आफैंलाई मारिरहेको छु ।’
बबीले आफ्नो ५०औं जन्मदिनको अवसरमा सलमान खानले आफूलाई कमब्याक गर्न मद्दत गरेको बताएका थिए । ‘सलमानसँग सीसीएलको क्रममा भेट भएको थियो । त्यहाँ मलाई सलमानले दाह्री किन बढाएको, हरेकको जिन्दगीमा मुश्किल समय आउँछ तर यसबाट हार मानेर बस्नु हुँदैन भनेर सम्झाएका थिए । र, यसपछि मलाई ‘रेस ३’ बाट प्रस्ताव गरेका थिएँ,’ उनले भनेका छन् ।

