Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्यालेन्टाइनमा आउन तयार पूजा किन पछि हटिन् ?

फिल्मीखबर, काठमाडौं, 2021/01/27
चीनबाट विश्व भ्रमण गर्दै नेपालसम्म आइपुगेको कोरोना भाइरसले नेपाली फिल्म क्षेत्रलाई समेत ठूलो असर गर्‍यो । कोरोनाबाट बच्न सरकारले चैत पहिलो साताबाट देश लकडाउन गरेपछि फिल्म निर्माण, वितरण र प्रदर्शन ठप्प भयो । जसले गर्दा यस क्षेत्रमा आश्रित फिल्मकर्मीहरुले नसोचेको समस्या भोगे । कोरोनाले रोजीरोटी नै गुमेपछि कति यस क्षेत्रबाट पलायन समेत भएका छन् ।
 
९ महिनासम्म बन्द रहेका सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आएका छन् । सरकारले भने पुष अन्तिम साताबाट सिनेमा हल खोल्ने निर्णय गरेको हो । त्यस्तै, मंसिर अन्तिम साताबाट सरकारले छायांकन अनुमति दिएपछि अहिले आधा दर्जनभन्दा बढी फिल्म छायांकनमा छन् । तर, कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किन भने समय लाग्ने देखिन्छ । 
 
 
सिनेमा हल खुलेपछि माघ १ गतेबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आयो । नाम चलेका कलाकारको अभिनय रहेका कारण फिल्मले हलमा दर्शक फर्काउने धेरैको अपेक्षा थियो । तर, फिल्मले हलमा पानी भन्न पाएन । यो फिल्म नचलेपछि अरु निर्माता समेत तर्सिएका छन् । अभिनेत्री पूजा शर्मा भने रिक्स मोलेर आफूले निर्माण गरेको फिल्म चलाउन तयार देखिएकी छन् ।
 
गत वर्षको फागुन अन्तिममा प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाका कारण रोकिएको थियो । सिनेमा हल खुलेपछि पूजाले फिल्म क्षेत्रलाई चलायमान बनाउन आफू निर्माता रहेको यो फिल्म प्रदर्शनका लागि निर्देशक सुदर्शन थापा र वितरक करण क्रेजीलाई आग्रह गरेकी थिइन् । उनले आउँदो भ्यालेन्टाइनमा फिल्म रिलिजको प्रस्ताव अगाडि सारेकी थिइन् । 
 
तर, वितरकले स्थिति सामान्य नहुँदासम्म पर्खिन सुझाव दिएपछि आफू पछाडि हट्न बाध्य भएको उनको भनाई छ । उनी भन्छिन्, ‘म सिनेमा हलमा मेरै फिल्म पहिला जाओस् भन्ने चाहन्थेँ । मैले सुदर्शन जीसँग हामी रिक्स नै मोलौं भनेर भनिरहेको हुन्छु । राम्रो फिल्म छ भने दर्शकले अवश्य पनि साथ दिनुहुन्छ । फिल्म नै कमजोर छ भने त जहिल्यै रिलिज गर्दा पनि दर्शकले हेर्नुहुन्न ।’
 
फिल्म रिलिजको बारेमा उनी अगाडि भन्छिन्, ‘मैले वितरकलाई हलले एमजी दिन्छ भने हामी फिल्म रिलिज गर्ने रिक्स उठाउन तयार छौं भनेको थिएँ । तर, उहाँहरु सही समय कुरेर बस्नु भएको छ । मैले भ्यालेन्टाइनमा फिल्म रिलिज गरौं भनेको थिएँ । तर, उहाँहरुले चैत वा बैशाखमा गरौं भन्नुभएपछि म पछि हेटेको हुँ ।’ यो फिल्ममा पूजाको जोडी अभिनेता पल शाहसँग बाँधिएको छ ।
Most Visited News (monthly)