.jpg)
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा उदाएकी उपासना सिंह ठकुरीको यसमा अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । तर, फिल्म भने बक्सअफिसमा सफल ठहरिएन । यसको असर उनको करिअरमा पर्ने धेरैको विश्लेषण थियो । तर, यो फिल्म रिलिजको केही हप्तामै उनी सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो पार्टमा अनुबन्धित भइन् ।
यो फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो जथ्था रहेका कारण उपासना छायाँमा पर्ने धेरैको अनुमान थियो । तर, यसमा पनि उनको सशक्त अभिनयले कलाकारको भीडमा हराउन दिएन । फिल्म पनि बक्सअफिसमा सुपरहिट भयो । यसपछि त उनलाई फिल्मबाट प्रस्तावको ओइरै लाग्यो । तर, उनले अध्ययन (बिबिए) पूरा गर्न एक वर्ष फिल्मबाट विश्राम लिने घोषणा गरिन् ।
उनी यस वर्षको भदौबाट फिल्ममा फर्किने तयारीमा थिइन् । तर, कोरोनाका कारण फिल्म निर्माण ठप्प भएपछि उनले प्रस्ताव आएका फिल्म पनि साइन गरिनन् । लकडाउनमा ८/९ वटा फिल्मको स्क्रिप्ट पढेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’ रिलिजको एक वर्षपछि गएको मंसिरमा फिल्म ‘डिसेम्बर फल्स’ साइन् गरिन् । अहिले उनी यही फिल्मको छायांकनका लागि पोखरामा छिन् ।
यसमा उनको जोडी अभिनेता आर्यन सिग्देलसँग बाँधिएको छ । यो फिल्मपछि उनले अभिनेता राजेश हमालसँग फिल्म ‘सत्यम्’ मा काम गर्न लागेको चर्चा छ । उनीसँग निर्माण टिमको कागजी सम्झौता नभए पनि मौखिक सहमति भइसकेको छ । उनी काठमाडौं फिरेपछि कागजी सम्झौताको तयारी गरिएको छ । यसरी हेर्दा एक वर्षको विश्रामपछि उपासनाको फिल्ममा व्यस्तता बढेको छ ।

