अभिनेता राजेश हमालले चार वर्षपछि अभिनयमा कमब्याक गर्न लागेको फिल्म ‘सत्यम् : राइजिङ अफ दि हिरोज्’ को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गरिएको छ । पोस्टरमा हमालको स्केच फोटो समावेश छ र उनलाई ‘महानायक’ सम्बोधन गरिएको छ । उनको हातमा बन्दुक पनि देख्न सकिन्छ । पोस्टरले फिल्ममा हमाल एक्सन अवतारमा प्रस्तुत हुन लागेको बुझाउँछ ।

फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुप बिक्रम शाहीको पनि अभिनय रहनेछ । उनको चरित्रको लुक्स पनि चाँडै सार्वजनिक गरिने निर्माता रेशम सापकोटाले बताए । यो फिल्ममा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमति जनाएको उनको भनाई छ । फिल्मलाई ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् ।
यो फिल्ममा काम गर्नका लागि सहमति जनाउन हमालले आठ महिनाको समय लिएका थिए । निर्देशक कार्कीका अनुसार, हमालकै अनुरोधमा पूरै फिल्म टुडी (2D) प्रविधिमा बनिरहेको छ । छायांकन सुरु हुनुभन्दा अगाडि टुडीमा हेरेर आवश्यक सुधार गरिने उनले बताए । फिल्म ‘सौर्य’ पछि दोस्रो पटक सँगै काम गर्न लागेका हमाल र शाहीको ‘सत्यम्’ मा भिडन्त हेर्न पाइनेछ ।

यसबीच, निर्माण टिमले फिल्मका लागि अडिसन पनि आह्वान गरेको छ । अडिसनबाट अन्य दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकारसँगै अन्य २२ जना कलाकारहरु छानिनेछ । माघ १९ गते काठमाडौं, माघ २३ गते पोखरा, माघ २५ गते बुटवल र माघ २७ गते झापामा हुने अडिसनमा सहभागी हुन चाहनेले [email protected] मा आफ्नो सम्पर्क नम्बरसहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।
‘सत्यम्’ को कथा रेशम सापकोटाले लेखेका हुन् । फिल्ममा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् । त्यस्तै, सह-निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी छन् । फिल्ममा कुटुम्ब ब्याण्डले थिम संगीत तथा ब्याकग्राउण्ड स्कोर दिनेछ । फिल्मका गीतमा योगेश काजीको संगीत र गणेश पौडेलले सहायक संगीत श्रृजना रहनेछ ।

दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ । फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रोडक्शन हेड दिनेश प्रकाश महरा, प्रोडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह-निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ ।

