(1).jpg)
के तपाईंले विश्वमा कुनै फिल्मको पहिलोे पार्टभन्दा अगाडि दोस्रो पार्ट बनेको सुन्नुभएको छ ? सम्भवतः छैन होला । तर, नेपालमा एउटा फिल्मको पहिलो पार्ट निर्माण नहुँदै दोस्रो पार्टको छायांकन सुरु हुने भएको छ । र, प्रदर्शन पनि पहिलो पार्टभन्दा अगाडि नै हुने भएको छ । निर्देशक मिलन चाम्स फागुन पहिलो साताबाट फिल्म ‘गोर्खा वारियर २’ को छायांकन सुरु गर्ने तयारीमा छन् ।
यो फिल्मको पहिलो पार्ट भने दोस्रो पार्टको छायांकन सकिएपछि निर्माण हुनेछ । दोस्रो पार्टको छायांकन सबैभन्दा अगाडि निर्माण गर्न लाग्नुको कारणबारे चाम्सले भने- ‘यसको चारवटा सिरिज बन्नेछ । जसमध्ये दोस्रो पार्टको छायांकन नेपाल र मलेशियामा हुनेछ । पहिलो पार्टको सबै छायांकन विदेशमा हुने भएकाले तत्काल सम्भव भएन । यसैले पहिला दोस्रो पार्ट बनाउन लागेका हौं ।’
फागुनबाट छायांकन सुरु हुने फिल्ममा प्रायः नयाँ कलाकारको अभिनय रहने चाम्सले बताए । केही दिनमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको ‘कास्ट एन्ड क्रियू’ को परिचय गराउने तयारीमा उनी छन् । यसको पहिलो पार्टमा भने दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटीलगायतको अभिनय रहनेछ । यसको चारैवटा सिरिजले नेपाली वीर गोर्खालीको कथा भन्नेछ ।
निर्देशक चाम्स यस वर्ष ‘गोर्खा वारियर २’ को छायांकन सकाएर २०२२ मा प्रदर्शन गर्ने योजनामा छन् । लकडाउनमा उनी यो फिल्मभन्दा अगाडि अभिनेत्री साम्राज्ञी आरएल शाहसँग नयाँ फिल्म बनाउने तयारीमा थिए । तर, यसको सम्पूर्ण छायांकन विदेशमा गर्नुपर्ने भएकाले कोरोनाका कारण तत्काल विदेशमा छायांकन गर्न सम्भव नभएपछि पछाडि सारिएको उनले जानकारी दिए ।

