
‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईको पाइपलाइनमा अहिले दुईवटा फिल्म छ । जसमध्ये एउटा फिल्म ‘तिमीसँगै हुन मन छ’ उनी आफैंले निर्माण र निर्देशन गर्दैछन् । उनी यो फिल्मको छायांकन लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाका कारण फिल्मको निर्माण हुन सकेन । अब उनी चैत अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने योजनामा छन् ।
यही फिल्मका लागि उनी करीब एक महिना भारत बसे । त्यहाँ बलिउड फिल्ममा आबद्ध विभिन्न व्यक्तिसँग प्रत्यक्ष भेट र छलफल गरेका उनले ‘तिमीसँगै हुन मन छ’ मा सम्पूर्ण टेक्निकल टिम भारतबाट झिकाउँदैछन् । फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म बलिउडका हुने उनले बताए । भारतबाट टेक्निकल टिम मार्च पहिलो वा दोस्रो साता नेपाल आउन सक्ने उनले जानकारी दिए ।
फिल्मका लागि मुख्य कलाकार पनि भारतबाट आउन सक्ने दीवाकर बताउँछन् । ‘फिल्ममा कुन-कुन कलाकार भारतका हुनेछन् भन्ने अहिलेसम्म फाइनल भएको छैन । टेक्निकल टिम भने सबै भारतकै हुनेछन् । जसले गर्दा फिल्मको बजेट निकै बढेको छ,’ निर्देशक भट्टराईले भने । लभस्टोरी फिल्म बनाउन सिपालु मानिने दीवाकर यो फिल्मलाई ठूलो क्यानभासमा खिच्ने तयारीमा छन् ।
फिल्ममा अभिनेता द्वय पल शाह र निराजन प्रधानसँगै अभिनेत्री दीपिका प्रसाईंको मुख्य भूमिका रहने चर्चा चलेको थियो । तर, पल र निराजनसँग दीवाकरको कागजी सम्झौता भएको छैन । दीपिका त उनकी श्रीमती हुन् । अब भारतबाट मुख्य कलाकार झिकाउने तयारी गरेपछि फिल्ममा पल र निराजन हुने सम्भावना झिनो बनेको छ । यद्यपि, यसबारेमा दीवाकरले बोल्न चाहेनन् ।

