
एक समयका सफल निर्देशक दीपक श्रेष्ठ सात वर्षपछि फिल्म निर्देशनमा फर्किँदैछन् । पछिल्लो पटक ‘रङ वे’ निर्देशन गरेका उनी अब ‘घिन्ताङ’ नाममा नयाँ फिल्म बनाउने तयारीमा जुटेका छन् । फिल्मका लागि मुख्य कलाकार समेत फाइनल गरिएको छ । केही दिन अगाडि फिल्म ‘अनुराग’ बाट अभिनेत्रीमा डेब्यू गरेकी एलिजा गौतमसँग निर्देशक श्रेष्ठले कागजी सम्झौता गरेका थिए ।
मुख्य नायकमा भने विपिन कार्कीसँग कुराकानी भएको थियो । उनले अन्य फिल्मलाई समय दिनुपर्ने भएपछि ‘घिन्ताङ’ मा अभिनेता गौरव पहारीको प्रवेश भएको छ । उनीसँग निर्देशक श्रेष्ठले कागजी सम्झौता गरिसकेका छन् । अब यो फिल्ममा एलिजा र गौरवको जोडी बाँधिनेछ । गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथालाई पर्दामा उतार्न लागेको निर्देशक श्रेष्ठको भनाई छ ।
एक समय निर्देशनमा भ्याइनभ्याइ हुने गरेका उनी समय, काल, परिस्थितिका कारण निर्देशनमा फर्किन समय लागेको बताउँछन् । ‘पापी मान्छे, भाई, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीर’ जस्ता एकसेएक सुपरहिट फिल्मको निर्देशन गरेका उनी नेपालमा सिक्वेल फिल्म निर्माणको सुरुवात गर्ने पहिलो निर्देशक समेत हुन् । उनले केही फिल्ममा अभिनय पनि गरेका छन् ।

