Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘पल्पसा क्याफे’ मा पल्पसा बन्दै स्वस्तिमा

फिल्मीखबर, काठमाण्डौ, 2021/01/19
 
अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा अभिनय गर्ने भएकी छन् । फिल्म ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी उनले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको नारायण वाग्लेद्वारा लिखित कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् । विमल सुवेदीले निर्देशन गर्ने यो नाटकमा स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्नेछिन् ।
 
कोरोनाको महामारी सामान्य भएपछि मञ्चन हुने नाटकको बारेमा मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको ‘पल्पसा क्याफे’ मा स्वस्तिमाका अलावा समापिका गौतम, साजनकुमार सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।
 
 
पुस्तकलाई केही परिमार्जित गरेर नाटकमा प्रस्तुत गर्न लागिएको निर्देशक सुवेदीले बताए । ‘पल्पसा क्याफे’ माथि नाटक बनाउनुको कारणबारे उनले भने, ‘केही वर्ष अगाडि हामीले पोखरामा द्वन्द्वकालमा वेपत्ता पारिएका व्यक्तिका परिवारको कथामा ‘खबर हराएका चिठी’ मञ्चन गरेका थियौं । यसपछि मैले अर्को नाटक गर्दा द्वन्द्वकै समयको कथा भन्छु भनेर प्रण गरेको थिएँ ।’ 
 
पुस्तकले तत्कालिन शसत्र द्वन्दको चित्रण गरेका कारण यसलाई नाटकमा उतार्न लागेको उनले बताए । त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा काम गर्न लागेका कारण उत्साहित र थ्रिल दुवै रहेको बताइन् । ‘पल्पसा’ पात्रलाई न्याय गर्न आफूले कडा मेहननत गरिरहेको उनी बताउँछिन् । उनले नाटकमा काम गर्ने इच्छा पूरा हुन लागेकोमा पनि खुसी व्यक्त गरिन् । 
 
 
भोलीका दिनमा नाटकलाई निरन्तरता दिने विषयमा उनी भन्छिन्, ‘म पहिलो पटक नाटक गर्दैछु । हेरौं यसमा कस्तो हुन्छ । नाटक गर्न मलाई मन लाग्ने भन्ने कुराले अर्थ राख्दैन । म कस्तो गर्छु भन्ने कुराले भोली निरन्तरता दिने वा नदिने भन्ने हुन्छ । अहिलेलाई यो सिच्वेसन फेस गर्छु ।’ नाटक हेरेपछि पुस्तकको पल्पसा पात्रमा पाठकले आफूलाई देख्नेमा उनी आशावादी छिन् । 
Most Visited News (monthly)