
कोभिड १९ का कारण सरकारले लकडाउन घोषणा गरेपछि ९ महिना फिल्म निर्माण ठप्प भयो । दशैंदेखि निर्माताहरुले जबरजस्ती रुपमा फिल्मको छायांकन गर्न थालेपछि सरकारले पनि मंसिर अन्तिम साताबाट फिल्म छायांकन खुल्ला गरेको छ । योसँगै निर्माणको तयारीमा रहेका फिल्मको छायांकन धमाधम सुरु भएको छ । अहिले आधा दर्जन बढी फिल्म फ्लोरमा छन् ।
यसबीच, अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’ को पनि छायांकन सुरु भएको छ । आइतवार पोखराको बिन्दवासिनी मन्दिरमा शुभसाइन गरेपछि सोमवारबाट फिल्मको दृश्य खिच्न थालिएको निर्माता लक्ष्मण रिजालले जानकारी दिए । सोमवार आर्यन र उपासनाले पहिलो सट दिए । पोखरापछि निर्माण टिम मुस्ताङ जाने तयारीमा छ ।
काठमाडौंमा पनि खिचिने फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा राज कुमार भट्ट निर्माता रहेको फिल्मको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने फिल्मको निर्देशन प्रबिन झाले गरिरहेका छन् । फिल्मका छायाँकार महेश आर गुप्ता हुन् ।
विपिका खनालको कथा रहेको फिल्ममा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । फिल्ममा नायक र नायिकाबीचको उमेर अन्तरको कुरा पनि उठाइएको निर्माता रिजालले बताए । फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत भरेका छन् । अर्को वर्ष (२०७८) को साउन १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।

