
फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुशील सिटौलाले लगनगाँठो कस्ने भएका छन् । फागुन ४ गते वसन्त पञ्चमीको दिन उनले दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् । माघ २ गते उनीहरुको टिकाटालो भएको थियो । विवाह भने विर्तामोडमा हुने सुशीलले जानकारी दिए । माघ १६ गते जन्मदिन मनाउने तयारीमा रहेका उनले मागी विवाह गर्न लागेका हुन् ।
विवाहका लागि परिवारको दबाब र उमेर पनि भएका कारण विवाह गर्न लागेको सुशीलले बताए । उनले भने- ‘कति करिअरलाई मात्र फोकस गर्ने भनेर विवाह गर्न लागेको हुँ । विवाहपछि पनि अभिनयलाई निरन्तरता दिनेछु । मैले जानेको नै अभिनय गर्न हो । त्यसैले यसबाट टाढा हुनै सक्दिनँ ।’ अभिनयमा पोख्त मानिने उनी पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’ बाटै चर्चामा आएका थिए ।
‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले, गाँजाबाजा, चिनी कम रंग कडा, रणवीर’ लगायतका फिल्ममा काम गरिसकेका सुशील ‘रणवीर’ मा एक्सन अवतारमा प्रस्तुत भएका थिए । यसमा उनको अभिनय र एक्सनको प्रशंसा भएको थियो । यो फिल्मका लागि उनले १५ केजी तौल बढाएर पुनः घटाएका थिए । तर, फिल्म बक्सअफिसमा असफल भएपछि उनले नयाँ फिल्म गरेका छैनन् ।

