Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘भूईंमान्छे’ निर्माता भट्टराईको निधन

फिल्मीखबर, काठमाडौं, 2021/01/16
 
फिल्म निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको निधन भएको छ । शुक्रवार ४२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी यस अस्पतालका पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजर थिए । उनले आफ्नो एउटा आउटसोर्सिङ कम्पनी ‘इनोभेटिभ एचआर सोलुसन’ पनि चलाउँदै आएका थिए ।
 
पुष पहिलो साता उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । दुई हप्ता अस्पतालको आइसोलेसनमा बसेपछि कोरोना जितेका उनी यसपछि निमोनियाबाट ग्रसित भएका थिए । लामो समयदेखि मेडिसिटीको भेन्टिलेटरमा उनी उपचाररत थिए । उनका श्रीमती र एक छोरा छन् ।
 
ताप्लेजुङमा जन्मिएका भट्टराई २०५२ सालमा अध्ययनका लागि काठमाडौं छिरेका थिए । आरआर कलेजबाट ब्याचलर गरेका उनले पोलिटिकल साइन्समा त्रिभुवन विश्वविद्यालयबाट मास्टर गरेका छन् । उनको अभिनय करिअरको सुरुवात भने एक समयको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ बाट भएको थियो । यसमा उनलाई कलाकार सन्तोष पन्तले अवसर दिएका थिए ।
 
‘हिजो आजका कुरा’ पछि केही नेवारी टेलिसिरियलसँगै ‘होकी क्या हो’ टेलिसिरियलमा पनि लामो समय काम गरेका भट्टराईले ‘अज्ञाप्य प्रेम, आवारा’ लगायतका केही फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरेका छन् । उनी अभिनीत अन्तिम फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पखाईमा छ । उनले आफ्नै लगानीमा तीन वर्ष अगाडि फिल्म ‘भूईंमान्छे’ को समेत निर्माण गरेका थिए ।
Most Visited News (monthly)