.jpg)
अभिनेत्री कंगना रनावतले आफू निर्देशित तथा अभिनीत फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को दोस्रो पार्ट बनाउने भएकी छन् । यसपटक फिल्मको नाम ‘मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा’ राखिएको छ । फिल्मलाई ठूलो क्यानभासमा निर्माण गरिने बताइएको छ । यसलाई वास्तविक जीवनका महिला नायिकामाथि विश्वस्तरीय फ्रेन्चाइजी बनाउने कंगनाको योजना छ ।
कंगनाले यस सन्दर्भमा ट्विटरमा लेखेकी छन्, ‘हाम्रो भारतमा झाँसीकी रानी जस्ता कयौं वीरांगनाहरुको कहानी छ । यस्तै एक नसुनेको वीरगाथा हो कश्मीरकी एक रानीको, जसले महमूद गजनवीलाई दुईपटक हराइन् । कमल जैन र म मिलेर ‘मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा’ लिएर आउँदैछौं ।’ यसअघि कंगना र कमलबीच फिल्म ‘मणिकर्णिका’ मा सहकार्य भएको थियो ।
कंगनाले गएको हप्ता जैनसँग एक बैठक बसेर स्क्रिप्टलाई अन्तिम रुप दिएकी छन् । दिद्दा कश्मीरकी रानी थिइन्, जसले महमूद गजनवीको युद्धमा दुईपटक हराएकी थिइन् । उनको एक खुट्टा पोलियोग्रस्त थियो तर उनी महान योद्धा थिइन् । कंगनाले आफ्नो चलिरहेको प्रोजेक्ट सबैभन्दा अगाडि पूरा गर्नेछिन् र यसपछि जनवरी २०२२ मा ‘मणिकर्णिका रिटर्न्स’ को छायांकन सुरु गर्नेछिन् ।

