(1).jpg)
कोभिड १९ का कारण बन्द भएका सिनेमा घरहरु पुष १० गतेबाट खुलेका छन् । सरकारको निर्णय कुर्दाकुर्दा निराश भएपछि हल व्यवसायीहरुले एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका थिए । आइतवारबाट भने सरकारले कानुनी रुपमा हल सञ्चालनको अनुमति दिएको छ । सरकारले हल खुलाउने निर्णय गरेसँगै सिनेमा हल सञ्चालन र अनुगमनको मापदण्ड पनि बनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बनाएको मापदण्डमा अनिवार्य रुपमा सिनेमा हलहरुले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका विधि अपनाउनु पर्ने उल्लेख छ । सिनेमा घरले अनलाइनबाट टिकट विक्री गर्नुपर्ने, टिकट काउन्टरबाट टिकट विक्री गर्दा भौतिक दूरी कायम गर्नुपर्ने, दर्शकलाई सिनेमा हलमा प्रवेश गराउँदा अनिवार्य रुपमा तापक्रम नाप्नुपर्ने मापदण्डमा भनिएको छ ।
सूचना मन्त्रालयले जारी गरेको मापदण्डमा सिनेमा घरमा एक जोडी वा परिवारलाई सँगै बस्न दिन सक्ने तर ती सँगै जोडिएका सिट खाली राखेर टिकट विक्री गर्नुपर्ने, २ भन्दा बढी पर्दा भएका सिनेमा घरले दर्शक क्षमता बढी भएका हलमा फिल्म प्रदर्शन गर्नुपर्ने, सिनेमा हल भित्र र बाहिर (पाकिङ, कम्पाउण्ड) दैनिक डिसइन्फेक्सन र सेनिटाइज गर्नुपर्ने मापदण्डले निर्देशित गरेको छ ।
सिनेमा हलले मापदण्डको पालना गरे वा नगरेको बिषयमा अनुगमन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अनुमगन तथा निर्देशन समिति पनि बनाएका छ । सूचना मन्त्रालयका सह-सचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा सदस्य र सूचना मन्त्रालय, संस्थान समन्वय शाखाका उपसचिवले सिनेमा हलको अनुगमन गर्ने १९ बुँदे मापदण्डमा उल्लेख गरिएको छ ।



