
अभिनेता रजनीकान्तले स्पष्ट रुपमा आफू राजनीतिमा प्रवेश नगर्ने बताएका छन् । आफू राजनीतिमा प्रवेश नगर्ने र यसबारेमा पूनर्विचार गर्न कुनै कार्यक्रमको आयोजना नगर्न पनि उनले सोमवार एक स्टेटमेन्ट जारी गर्दै प्रशंसकलाई आग्रह गरेका छन् । आइतवार उनका समर्थकहरुले आफ्नो फैसला बदलेर राजनीतिमा आउन अनुरोध गर्दै वेल्लुवर कोट्टममा प्रदर्शन गरेका थिए ।
उनले भनेका छन्, ‘मैले आफ्नो निर्णय र त्यसको कारण भनिसकेको छु । मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्न अपिल गर्दछु ।’ उनले तमिलनाडुको विधान सभामा चुनाव लड्ने गरी जनवरी २०२१ मा राजनीतिक पार्टी घोषणा गर्ने बताएका थिए । यसका लागि उनले सम्पूर्ण तयारी गरेका थिए । तर, स्वास्थ्य विग्रिएपछि उनी आफ्नो निर्णयबाट पछि हटे ।
हैदराबादमा एक फिल्मको छायांकनको क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसपछि उनले २९ डिसेम्बरमा कोरोना महामारी र आफ्नो स्वास्थ्य स्थितिका कारण राजनीतिमा प्रवेश नगर्ने जानकारी दिएका थिए । रजनीकान्तले २०१६ मा पत्थरीको शल्यक्रिया गरेका थिए र उनले रोग प्रतिरोधी क्षमता बढाउने औषधीको सेवन गर्ने गरेका छन् ।

