कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन घोषणा हुनुभन्दा अगावै सरकारले सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । दुई चरणको बन्दाबन्दीपछि सरकारले भीडभाड हुने विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएपनि सिनेमा हलमाथिको प्रतिबन्ध कायमै राखेको थियो । आइतवार मन्त्रीपरिषदको बैठकले १० महिनापछि सिनेमा हल खुलाउने निर्णय गरेको छ ।
.jpg)
सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिनुभन्दा अगाडि नै पुष १० गतेबाट नेपाल चलचित्र संघले एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेको थियो । तर, सरकारले अनुमति नदिएकाले हल सञ्चालकहरु सिनेमा हल खोल्ने वा बन्दै गरिराख्ने भन्नेमा अन्योल थिए । मन्त्रीपरिषदको बैठकले सिनेमा हल खोल्न अनुमति दिएपछि भने हल सञ्चालकहरुले राहतको सास फेरेका छन् ।
तर, सिनेमा घरहरु सञ्चालनमा आएपनि दर्शक उपस्थिति उत्साहजनक छैन । एकातिर कोरोनाको भय र अर्कोतिर पुराना फिल्म चलेका कारण पनि हलमा दर्शक आउन नसकेको हल सञ्चालकहरुको भनाई छ । नयाँ फिल्म प्रदर्शन भएपछि सुनसान हल दर्शकले भरिनेमा उनीहरु विश्वस्त छन् । तर, तत्काल नयाँ फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन निर्माताहरु तयार देखिएका छैनन् ।

सोमवार फिल्मीखबरको टिम राजधानीका मल्टीप्लेक्स र सिंगल हल अवलोकनको क्रममा पुग्दा प्रायः हल सुनसान देखिए । बानेश्वरस्थित वान सिनेमाज् हलमा शुक्रवारबाट नयाँ हलिउड फिल्म ‘मोन्स्टर हन्टर र द इनभिजिवल म्यान’ प्रदर्शन भइरहेको छ । तर, दुवै फिल्ममा दर्शक उपस्थिति न्यून छ । आइतवार १२ बजेको शोमा ‘मोन्टर हन्टर’ गर्ने दर्शक ६/७ जना मात्र थिए ।
वान सिनेमाज्का सुपरभाइजर सुजित गुइरेलले अपेक्षा गरेअनुसार हलमा दर्शक उपस्थिति नभएको बताए । उनले भने- ‘हामीले व्यापार गर्नभन्दा पनि दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाउन हल खोलेका हौं । हल खोल्दै गर्दा जति अपेक्षा गरेका थियौं, त्यो अनुसार दर्शकको चाप छैन । तर, नयाँ फिल्म प्रदर्शनमा आएको खण्डमा दर्शक आउँछन् भन्नेमा चाहिँ विश्वस्त छौं ।’

दिउँसो २ बजे चावहिलस्थित एफक्यूबमा हलिउड फिल्म ‘मोन्स्टर हन्टर’ हेर्ने दर्शक ६ जना थिए । शुक्रवार र शनिवार भने फिल्म हेर्ने दर्शकको संख्या राम्रो रहेको हलको एडमिस्ट्रेसन हेर्दै आएका दुर्गा प्रसाद रिजालले बताए । उनी भन्छन्, ‘भोलीका दिनमा नयाँ फिल्म प्रदर्शन भए दर्शक आउँछ भन्ने ‘मोन्स्टर हन्टर’ ले देखाएको छ । दर्शकहरु अहिले नयाँ फिल्म हेर्न खोजिरहेका छन् ।’
अहिले सिनेमा हल पूरै घाटामा चलिरहेको पनि उनले बताए । सिनेमा हल नचल्दाभन्दा चल्दा धेरै खर्च भइरहेको उनको भनाई छ । तीनवटा स्क्रिनमध्ये एफक्यूबले अहिले दुईवटा स्क्रिन मात्र सञ्चालनमा ल्याएको छ । कमलपोखरीमा रहेको विग मुभिज पनि आइतवार दिउँसो सुनसान थियो । तीनवटा स्क्रिन रहेको यो सिनेमा हलमा ‘मोन्स्टर हन्टर, आमा र सेन्टी भाइरस’ प्रदर्शनरत छन् ।
.jpg)
आइतबार दिउँसो ३ बजे कमलपोखरीमा नै रहेको कुमारी सिनेमा हल भने बन्द थियो । गेटमा नै ताला झुण्डिएको थियो । अहिले राजधानीमा रहेका क्यूएफएक्स चेनको छाँया सेन्टर, सिभिल मल र लबिम मलका सिनेमा हल मात्र सञ्चालनमा छन् । यसमा दुई हलिउड फिल्म ‘मोन्स्टर हन्टर र द इनभिजिवल म्यान’ सँगै दुई नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ प्रदर्शन भइरहेका छन् ।
.jpg)
चावहिलस्थित गोपीकृष्ण मुभिज पुग्दा भने त्यहाँको दृश्य उराठलाग्दो देखियो । सातवटा स्क्रिन रहेको गोपीकृष्ण हल अहिले पूर्ण रुपमा भत्काइएको छ । अब यहाँ व्यापारिक उद्येश्यसहित कम्प्लेक्स निर्माण गरिँदैछ । कम्प्लेक्स निर्माण भएपछि माथिल्लो तल्लामा नयाँ स्वरुपमा सिनेमा हल खोल्ने तयारी गरिएको छ । यो हलबाट नेपाली निर्माताले राम्रो शेयर हात पार्ने गरेका थिए ।

नयाँ फिल्म प्रदर्शन नहुँदा ९ महिनापछि खुलेका सिनेमा हलहरु जुरमुराउन पाएका छैनन् । हल व्यवसायी र वितरकहरुले नयाँ फिल्म प्रदर्शनका लागि पहल गरेता पनि निर्माताहरु लगानी सुरक्षित हुने ग्यारेन्टी नभएसम्म नयाँ फिल्म प्रदर्शन गर्ने पक्षमा छैनन् । अब माघ १ गते (माघे संक्रान्ति) बाट प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आशमा हल सञ्चालक छन् ।

