
अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक सिल्भर स्क्रिनमा एकसाथ देखिने भएका छन् । ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’ मा उनीहरुको जोडी बाँधिएको छ । आइतवार ऋतिकको जन्मदिनमा अवसरमा यो फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । निर्देशक अनन्दले एक भिडियोमार्फत् फिल्मको घोषणा गरेका हुन् ।
ऋतिकले फिल्मको मोसन पोस्टर शेयर गर्दै इन्स्टामा लेखेका छन्, ‘मारफ्लिक्स भिजनको ‘फाइटर’ को एक झलक प्रस्तुत गर्दछु । दीपिका पादुकोणसँग मेरो पहिलो उडान हुनेछ । म यो ठूलो सफरका लागि पूर्ण रुपमा तयार छु, सिद्धार्थ आनन्द ।’ उनले फिल्मको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । फिल्मको मोसन पोस्टरको भिडियोमा ऋतिकको आवाज सुन्न सकिन्छ ।
फिल्मको बारेमा निर्देशक आनन्द भन्छन्, ‘भारतीय र विश्वका दर्शकका लागि मेरो मनपर्ने स्टार ऋतिक र दीपिकालाई एकसाथ लिएर आउनु मेरो लागि सबैभन्दा रोमान्चक क्षण हो । म भारतमा एक्सन फिल्म बनाउनका लागि समर्पित प्रोडक्शन हाउस मारफ्लिक्सको सफर सुरु गर्नका लागि पनि रोमान्चित छु ।’ फिल्मको रिलिज डेट २०२२ सेप्टेम्बर ३० तारिखलाई तोकिएको छ ।

