अभिनेता अनमोल केसी शान्त स्वभावका छन् । आफ्नो बारे गलत हल्ला फैलिँदा समेत उनी त्यसको प्रतिकार गर्न हतारिँदैनन् । उनी आफूले अभिनय गरेको फिल्मको प्रचारभन्दा अगाडि मिडियामा पनि झुल्किँदैनन् । आफूलाई रिजर्भ राख्ने यही बानीकै कारण उनको छवि नेपाली फिल्म क्षेत्रमा अन्य कलाकारको भन्दा भिन्न छ । तर, सेलिब्रेटी भएपछि राम्रा/नराम्रा दुवैखाले चर्चा चल्ने गर्छ ।

अनमोलको पनि जब फिल्म रिलिजको मुखमा हुन्छ, तब आफ्नै फिल्मकी अभिनेत्रीसँग अफेयरको हल्ला चल्छ । फिल्म ‘जेरी’ रिलिजताका उनी यही फिल्मकी अभिनेत्री आना शर्माको प्रेममा रहेको चर्चा चलेको थियो । फिल्म ‘गाजलु’ रिलिजताका सृष्टि श्रेष्ठ, ‘ड्रिम्स’ रिलिजको समयमा साम्राज्ञी आरएल शाह र ‘ए मेरो हजुर ३’ को बेला सुहाना थापासँग पनि उनको प्रेम चर्चा चलेको थियो ।
दुई वर्ष अगाडि फिल्म ‘क्याप्टेन’ रिलिजको समयमा भने उनी ‘पिंजडा ब्याक अगेन’ फेम्ड अभिनेत्री सारा सिरपालीको प्रेममा रहेको खबर बाहिरिएको थियो । साराको जन्मदिन मनाउन उनी नगरकोट समेत पुगेको चर्चा चलेको थियो । तर, दुवैले आफूहरुबीच चिनजान र भेटघाट भए पनि प्रेम नभएको स्पष्ट पारेका थिए । अहिले भने उनीहरुको सम्बन्धको बारेमा कही कतै सुनिएको छैन ।
दुई महिनाका लागि रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेपछि अनमोल आफ्नै होम प्रोडक्सनको फिल्म ‘पारस’ गर्दैछन् । यसमा उनले आग्या करनजितसँग रोमान्स गर्न लागेको खबर छ । अडिसनबाट आग्या फिल्मका लागि छनोट भएको जानकारी प्राप्त छ । तर, निर्माण टिमले भने फिल्ममा अहिलेसम्म अनमोलबाहेक अरु कलाकार फाइनल नभएको बताएको छ ।
फिल्म ‘पारस’ मा अनमोल र आग्याले स्क्रिन शेयर गर्न लागेको चर्चा चलिरहँदा उनीहरु प्रेम रहेको पनि गाईंगुईं सुनिन थालेको छ । अहिले अनमोल जहाँ हुन्छन्, आग्या पनि त्यहीँ हुन्छिन् । घुमघाममा निस्कँदा पनि उनीहरु छुटिँदैनन् । केही दिनअघि उनीहरुले साथीहरुसँग घुमफिरका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले यो जोडी भारतको दार्जिलिङ भ्रमणमा छ ।
अनमोलले शनिवार आफ्नो इन्स्टाग्राममा दार्जिलिङको रेलको अगाडि खिचेको एक तस्विर पोस्ट्याएका छन् । उनले इन्स्टा स्टोरीमा पनि दार्जिलिङका दृश्य शेयर गरेका छन् । त्यस्तै, आग्याले पनि आफ्नो इन्स्टा स्टोरीमा ‘दार्जिलिङ हिल्स’ भन्दै एउटा भिडियो पोस्ट गरेकी छन् । यसबाट के बुझ्न सकिन्छ भने अनमोल र आग्या अहिले एकसाथ दार्जिलिङ घुमिरहेका छन् ।

अनमोल र आग्याले दार्जिलिङमा सँगै खिचेका तस्विरहरु भने साझेदार गरेका छैनन् । उनीहरु केही दिन अगाडि मात्र घुमफिरको उद्येश्यले त्यसतर्फ प्रस्थान गरेका हुन् । कुनै युवतीसँग अनमोलको यसप्रकारको घनीभूत निकटता र सामिप्यता अहिलेसम्म देखिएको थिएन । यसकारण पनि आग्यासँग उनी प्रेममा त छैनन् भन्ने अड्कल लगाउन दर्शक र मिडियालाई ठाउँ दिएको छ ।

