कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई गतिशिल बनाउन सबै पक्ष मिलेर जानुको विकल्प नभएको फिल्मकर्मीहरुले बताएका छन् । शुक्रवार चलचित्र पत्रकार संघ दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले अब कम्तिमा हप्ता दिनमा मात्रै फिल्म रिलिज गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले हल खोल्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताए । ‘मानिसमा अझै कोरोनाको डर कायमै छ । जसका कारण सिनेमा हलमा दर्शकलाई सुरक्षाको अनुभूति दिलाउन हल सञ्चालकले ध्यान दिनुपर्छ र चलचित्र विकास बोर्डले हल सञ्चालनका लागि आवश्यक सुरक्षा सामाग्रीमा पहल गर्नुपर्छ,’ उनले भने ।
.jpg)
सिनेमा हल सञ्चालक ललित श्रेष्ठले कोरोना महामारीका कारण सिनेमा हल लामो समय बन्द हुँदा श्रमिकलाई मासिक पारिश्रमिक दिन समस्या परेको बताए । पुष १० गतेबाट हल सञ्चालनमा आएपनि राम्रा फिल्म पाउन नसकेको उनी बताउँछन् । त्यस्तै, ‘गाजलु र छ माया छपक्कै’ का निर्माता रोहित अधिकारीले कोरोनाको भयले नयाँ फिल्म रिलिज गर्न निर्माताहरु डराइरहेको बताए ।
‘कारोना कहरका कारण अझै दर्शक सिनेमा हलसम्म आउन सकेका छैनन् । नयाँ फिल्म प्रदर्शन गर्न पहिला दर्शकलाई हलसम्म ल्याउने वातावरण बनाउनु पर्छ,’ उनले भने- ‘सिनेमा हलप्रति राज्य पनि गम्भीर हुनुपर्छ । यो अवस्थामा राज्यले हल सञ्चालकहरुलाई अनुदानको व्यवस्था गर्नुपर्छ ।’ अहिले सिनेमा हल खुले जस्ता देखिए पनि पूर्ण रुपले नखुलेको उनले बताए ।
उक्त कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोनाका कारण बन्द भएका हल सञ्चालनमा चलचित्र विकास बोर्डको भूमिका कमजोर देखिएको बताए । कोरोना कहरका बीच पनि निर्माता नयाँ फिल्म प्रदर्शन गर्न तयार रहेका कारण राज्यले हल सञ्चालनलाई उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । राज्यले फिल्म निर्माणमा अनुदान दिनुपर्ने पनि उनी बताउँछन् ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मी, डा.लोकराज पराजुली, हाँस्य कलाकार कमल गाउँलेले पनि कोरोना जोखिमकै बीच फिल्म क्षेत्रलाई गतिशिल बनाउनुको विकल्प नभएको बताएका छन् ।

