.jpg)
अविवाहित कलाकारले परिवार, प्रशंसक र मिडियाकर्मीबाट दिक्कै हुने गरी सामना गर्नुपर्ने एउटा प्रश्न हो- बिहे कहिले गर्ने ? अझ लगनको महिनामा त यो प्रश्नले हदै लखेट्छ । विवाहपछि काम नपाइने र करिअर सुस्ताउने डरले प्रायः कलाकार विवाह बन्धनमा बाँधिन हतार गर्दैनन् । कतिलाई भने यी कुराको प्रवाह हुँदैन । वर्षेनी कुनै न कुनै कलाकारले लगनगाँठो कसिरहेका हुन्छन् ।
अभिनेता तथा सहोदर दाई आयुष्मान देशराज जोशीले विवाह गरेपछि अभिनेता आशिरमान देशराज जोशीलाई अहिले मिडियाकर्मी र प्रशंसकबाट विवाहको प्रश्नले दिक्क बनाउन थालेको छ । सामाजिक सञ्जालमा समेत उनलाई प्रशंसकले विवाहको प्रश्न सोध्ने गरेका छन् । उमेरले २२ वर्षमा हिँडिरहेका उनी कुनै एक युवतीको प्रेममा भएपनि तत्काल विवाह गर्ने सोचमा छैनन् ।
बिहीवार इन्स्टाग्राममा एक प्रशंसकले विवाहको विषयमा गरेको प्रश्नको जवाफमा उनले लेखेका छन्, ‘यो प्रश्नले अहिले पनि मलाई एक्लै छाड्दैन ।’ केही समयदेखि विवाहको प्रश्नले आफूलाई एक्लै नछाडेको उनको भनाई छ । शहरीया युवापुस्तामा राम्रो क्रेज भएका उनले करीब २ वर्षदेखि कुनै फिल्ममा काम गरेका छैनन् । पछिल्लो पटक उनी फिल्म ‘द ब्रेकअप’ मा देखिएका थिए ।
.jpg)
उनको डेब्यू फिल्म भने ‘ग्यांगस्टार ब्लूज’ हो । तर, दुवै फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिएपछि उनी नयाँ फिल्म गर्न हतारिएका छैनन् । नेपाली फिल्ममा प्रवेश गर्दैगर्दा उनलाई धेरैले अभिनेता अनमोल केसीलाई टक्कर दिनसक्ने अभिनेताको रुपमा हेरेका थिए । तर, लगातार दुई फिल्मले हलमा घुँडा टेकेपछि उनलाई आफ्नै करिअर बचाउन पनि मुश्किल भएको अवस्था छ ।

