कोरोनाका कारण करीब ९ महिना फिल्म क्षेत्र ठप्प भयो । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीहरु पलायन हुने अवस्थामा पुगेका थिए भने फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोरेको छ । मंसिर अन्तिम सातादेखि सरकारले फिल्म छायांकन खुल्ला गरेपछि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट हल व्यवसायीले एकतर्फी रुपमा सिनेमा हल पनि खोलेका छन् ।
सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको थियो । अब सरकार पनि सिनेमा हल खोल्ने पक्षमा देखिएको छ । तर, तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाइरहेका छन् ।
.jpg)
तर, सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउँदा पनि सिनेमा हलमा दर्शकको खडेरी छ । हल सञ्चालकहरु एकजना दर्शकलाई पनि फिल्म देखाउन बाध्य छन् । नयाँ फिल्म प्रदर्शन नभएसम्म सिनेमा हलमा दर्शकको चहलपहल बढ्ने देखिन्न । तर, प्रतिष्ठित ब्यानरहरु लगानी सुरक्षित हुने ग्यारेन्टी नभएसम्म नयाँ फिल्म प्रदर्शन गर्न तयार छैनन् ।
ठूला भनिएका फिल्मका निर्माताहरुले यो समयमा फिल्म प्रदर्शन गर्ने आँट नगर्दा एक्सन स्टार शिव श्रेष्ठले भने आफू निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट दर्शकलाई सुम्पिदैछन् । कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन लाखौंको लगानीमा बनेको फिल्म प्रदर्शन गर्ने उनको हिम्मतलाई फिल्मकर्मीहरुले प्रशंसा गरेका छन् ।
कोभिडको समयमा फिल्म क्षेत्रलाई सहयोग गर्ने भावनाले फिल्म प्रदर्शन गर्न लागेको अभिनेता श्रेष्ठले बताएका छन् । ‘यो समयमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । म कलाकार भएका कारण फिल्म क्षेत्रप्रति आफ्नो कर्तव्य सम्झिएर दर्शकलाई इन्टरटेन्मेन्टको भ्याक्सिनको रुपमा फिल्म लिएर आउँदैछौं । दर्शकको साथ पाउनेछौं भन्नेमा हामी पूर्ण विश्वस्त छौं,’ उनले भने ।
४० वर्षदेखि दर्शकले गरेको विश्वासका कारण आफूले फिल्म रिलिज गर्न लागेको उनी बताउँछन् । ‘कतिले फिल्म बन्दैन पनि भनेका थिए । तर, दर्शकको विश्वासका कारण आज फिल्म तयार भएको छ,’ उनले थपे- ‘फिल्म कमजोर भएर यो समयमा प्रदर्शन गर्न लागेको होला भनेर पनि धेरैले सोच्लान् । तर, त्यसो होइन । कोरोनाले थलिएको फिल्म क्षेत्रलाई उठाउन हाम्रो यो प्रयास हो ।’

