
बलिउड निर्माता करण जोहर धर्मा प्रोडक्सनलाई भारतको सबैभन्दा ठूलो प्रोडक्सन हाउस बनाउन लागिपरेका छन् । केही दिन अगाडि उनले कार्नरस्टोन ट्यालेन्स म्यानेजमेन्ट एजेन्सीसँग हात मिलाएका थिए । यसपछि लाइका प्रोडक्सनसँग पाँच फिल्मको सम्झौता गरेका उनले अब उद्योगपति गौतम अडानीको अडानी ग्रुपलाई धर्मा प्रोडक्सनको ३० प्रतिशत शेयर बेच्ने भएका छन् ।
बलिउड हंगामाको रिपोर्ट अनुसार, अडानी ग्रुपले अहिले एनर्जी, रिसोर्सेज, लोजिस्टिक्स, कृषि, रियल एस्टेट, फाइनेन्सियल सर्भिसेज, डिफेन्स लगायतका विभिन्न क्षेत्रमा निकै ठूलो लगानी गरिरहेको छ । अब यो ग्रुपले इन्टरटेनमेन्ट इन्डस्ट्रीमा पनि आफ्नो कदम राख्ने फैसला लिएको छ । यसका लागि अडानी ग्रुपले करण जोहरको धर्मा प्रोडक्सनसँग सहकार्यको हात मिलाएको छ ।
सन् २०२० मा अन्य प्रोडक्सन हाउसलाई झैँ धर्मा प्रोडक्सनलाई पनि ठूलो घाटा भएको छ । अडानी ग्रुपसँगको सम्झौताले धर्मालाई ठूलो राहत मिल्ने भारतीय मिडियाले बताएका छन् । यो सम्झौतासँगै करण आफ्नो ड्रिम प्रोजेक्ट ‘तख्त’ को काम पुनः सुरु गर्ने तयारीमा छन् । धर्माको पाइपलाइनमा ‘शेरशाह, जुग जुग जीयो, फाइटर, ब्रह्मास्त्र, रणभूमि, योद्धा’ लगायतका फिल्म छन् ।

