
मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर र सुष्मा रुपहाङ्ग राईको शब्द रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा नव-अभिनेत्री कविता मानन्धर र नव-अभिनेता शक्ति श्रेष्ठ फिचर छन् ।
कविता, अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् भने शक्ति, अभिनेता शिव श्रेष्ठका छोरा हुन् । उनीहरुले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको पनि अभिनय छ । फिल्मको निर्देशन दिपेश सापकोटाले गरेका हुन् ।
माघ १ गते (माघे संक्रान्ति) बाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको सह-निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।
कोरोनाका कारण ठप्प रहेको फिल्म क्षेत्र चलायमान बनाउन आफूले फिल्म प्रदर्शन गर्न लागेको अभिनेता श्रेष्ठले बताएका छन् । उनले भने, ‘कोरोनाका कारण ९ महिना फिल्म क्षेत्र ठप्प भयो । बल्ल सिनेमा हलहरु खुलेका छन् । तर, हलमा नयाँ फिल्म छैनन् । यो समयमा फिल्म क्षेत्रलाई चलायमान बनाउन दर्शकलाई मनोरञ्जनको भ्याक्सिनको रुपमा फिल्म प्रदर्शन गर्न लागेका हौं ।’
गीत हेर्नुहोस् :-

