.jpg)
कलाकार र निर्देशकबीच सुमधुर सम्बन्ध स्थापित भएको विरलै देख्न पाइन्छ । प्रायःको सुटिङ सेटबाटै सम्बन्धमा तिक्तता आएको हुन्छ । कतिको फिल्म रिलिजको समयमा सम्बन्ध विग्रिएको पाइन्छ । यद्यपि, रंगिन दुनियाँमा दश्मनी र मित्रता दिगो हुँदैन भन्ने गरिन्छ । वर्षौदेखिको दुश्मनी मित्रतामा परिणत भएका र घनिष्ट मित्रता दुश्मनीमा बदलिएका फिल्म क्षेत्रमा धेरै उदाहरण छन् ।
फिल्म क्षेत्रमा निर्देशक र कलाकारबीच सुमधुर सम्बन्ध कायम भएका उदाहरण नभएका भने होइनन् । निर्देशक तथा अभिनेता निश्चिल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक हेमराज विसी असल मित्रताको उदाहरण हुन् । उनीहरुबीच पहिलो पटक फिल्म ‘घामड शेरे’ मा सहकार्य भएको थियो । फिल्मलाई हेमराजले निर्देशन गरेका थिए भने निश्चल र स्वस्तिमाको अभिनय थियो ।
यो फिल्म बक्सअफिसमा टाँट पल्टिए पनि उनीहरुबीचको मित्रता भने बलियो बनेको छ । निर्देशक विसीले बुधवार आफ्नो जन्मदिन समेत सौराहको एक रिसोर्टमा निश्चल र स्वस्तिमासँँग मनाएका छन् । अन्य समयमा पनि उनीहरुको भेट भइरहेको हुन्छ । ‘घामड शेरे’ पछि बढेको निकटताले उनीहरुबीच फेरि नयाँ प्रोजेक्टमा सहकार्य हुन लागेको त होइन भन्ने चासो पनि धेरैमा छ ।
तर, तत्काल उनीहरुबीच टिमअप हुने सम्भावना भने न्यून छ । किनकि, निश्चल आफ्नै निर्देशनमा फिल्म ‘जिन्दाबाद’ बनाउने तयारीमा छन् । स्वस्तिमाले पनि फिल्म ‘चिसो मान्छे’ साइन गरेर बसेकी छन् । त्यस्तै, हेमराजले अभिनेता प्रदीप खड्कासँग नयाँ फिल्म बनाउँदैछन् । नयाँ फिल्ममा पुनः टिमअप नभए पनि उनीहरुको मित्रता भने फिल्म क्षेत्रका लागि उदाहरणीय बनेको छ ।

