
कोरोना महामारीका बीच सुपरस्टार सलमान खान स्टारर फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ महंगोमा विक्री भएको छ । जी स्टूडियोजले सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा खरिद गरेको छ । कोभिडको समयमा यति महंगोमा विक्री भएको यो पहिलो फिल्म हो । योसँगै फिल्मको लगानी पनि सुरक्षित भएको भारतीय मिडियाले बताएका छन् ।
सलमान र जी स्टूडियोजबीच यो सम्झौता फाइदा सावित हुने देखिएको छ । किनकि, सलमानका फिल्मले निकै राम्रो व्यापार गर्ने गरेका छन् । यो फिल्मको छायांकन अक्टोबरमा नै पूरा भइसकेको छ । यस वर्षको इदलाई प्रदर्शन मिति तोकिए पनि कोरोनाका कारण अब अर्को वर्षको इदमा फिल्म प्रदर्शन हुनेछ । फिल्मलाई भारतका चर्चित कोरियोग्राफर प्रभु देवाले निर्देशन गरेका हुन् ।
फिल्ममा सलमानका अलावा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका छ । ‘राधे’ कोरियन फिल्म ‘द आउटलज’ को हिन्दी रिमेक रहेको बताइएको छ । फिल्ममा सलमान पुनः एकपटक पुलिस अफिसरको भूमिकामा देखिँदैछन् । प्राप्त जानकारी अनुसार, फिल्मको २० मिनेटको एक्सन सिनमा निर्माण टिमले साढे ७ करोड भारतीय रुपैयाँ खर्चिएको छ ।

