
अभिनेता मुकेश ढकाललाई कुनै समय ‘नेपाली सिरियल किसर’ भन्ने गरिन्थ्यो । फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ र निगरानी’ मा अभिनेत्री अरुणीमा लम्सालसँग लामो किस सिन दिएपछि नेपाली इमरान हाशमीको समेत ट्याग पाएका उनले फिल्म ‘हाम्रो माया जुनी जुनीलाई’ मा नीता ढुंगाना, ‘प्लान’ मा रागिनी खड्गी, अनुष्का ढकाल, अनिता दाहालसँग पनि किस सिन दिएका छन् ।
दुई दर्जनको आसपास नेपाली फिल्ममा काम गरेका मुकेश केही वर्षयता भने अभिनयमा सक्रिय छैनन् । अमेरिकालाई कर्मथलो बनाएपछि फिल्ममा देखिन छाडेका उनी लामो समयपछि अभिनयमा फर्किएका छन् । फिल्म ‘सरप्राइज’ बाट उनले अभिनयमा पुनरागमन गरेका हुन् । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भइरहेको यो फिल्मको अहिले अमेरिकाका छायांकन भइरहेको छ ।
फिल्ममा मुकेशका अलावा लाउरा घिमिरे, आशिष दयाली, धनेन्द्र रसाइली, मिलन खवास, विवेक घिमिरे, अनिस सेन्चुरी, किशोर कालिकोटेलाई अभिनय गर्दै देख्न सकिनेछ । पुष्प गजमेरले फिल्मको गीतमा संगीत भरेका छन् । राजेन्द्र विस्टको छायांकन र कामी कान्छाको कथा, संवाद तथा पटकथा रहेको फिल्मको २३ डिसेम्बरबाट छायांकन सुरु भएको निर्देशक रसाइलीले बताए ।
अभिनेता मुकेश ढकालले फिल्मका लागि आफ्नो भागको छायांकन पूरा गरिसकेका छन् । अबको दुई हप्तामा फिल्मको सम्पूर्ण छायांकन पूरा हुने निर्देशक रसाइलीले बताए । कसैलाई सरप्राइज दिनुअघि सरप्राइज पाउने व्यक्तिको मनोविज्ञान र त्यसबाट उत्पन्न हुने घटना परिघटनामा फिल्म आधारित रहेको उनको भनाई छ । उनका अनुसार, फिल्मले प्रेमकथा पनि वाचन गर्नेछ ।

