Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गणपति’ मा भगवान र मान्छेबीचको फरक

फिल्मीखबर, काठमाडौं, 2020/12/29
सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् ।
 
 
अ विग म्यान फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । तनहुँ बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेले खिच्नेछन् ।
 
विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् । फिल्मलाई गोविन्द शाहीले देशभर वितरण गर्ने जिम्मा लिएका छन् ।
 
फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज भर्नेछन् । त्यस्तै, स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले फिल्मको ओभरसिज राइट्स लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे । ‘मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाउनेछौं,’ उनले भने ।
 
 
कलाकार जयनन्द लामाले फिल्मको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको बताए । अभिनेता भुषाल भने फिल्म साइन गरेपछि डराएका रहेछन् । उनले भने- ‘म टाइटल क्यारेक्टरमा छु । एउटा कलाकारलाई राम्रो क्यारेक्टरको भोक सधैं हुन्छ र त्यो क्यारेक्टर बाँचिरहोस् भन्ने लाग्छ । मैले फिल्म गर्छु त भनेँ तर क्यारेक्टरलाई बुझ्दै गएपछि डर लाग्न थाल्यो ।’
 
उनले अगाडि भने- ‘सुरुमा मलाई यो क्यारेक्टरलाई न्याय गर्न नसकुँँला कि भन्ने डर लागेको थियो । तर, म बेकारमा आत्तिएको रहेछु । फिल्ममा अभिनयका गुरुहरु भएपछि म किन डराउनु ! सबैले मलाई गाइड गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ खराब समय र कमजोर भाग्य हुँदा मान्छे कहाँसम्म गिर्न पुग्छ र भाग्य बलियो भयो भने कहाँसम्म पुग्छ भन्ने फिल्मले देखाउने उनले बताए ।
 
 
त्यस्तै, निर्माता लक्ष्मण थापाले फिल्मको कथावस्तु पृथक लागेका कारण लगानी गर्न तयार भएको बताए । फिल्मको स्क्रिप्ट पढ्दा आफू तीन पटक रोएको उनी सम्झन्छन् । उनले भने- ‘यो फिल्मको स्क्रिप्ट फरक किसिमको छ । केही नयाँपन छ । समाजमा घट्ने घटनालाई फिल्ममा देखाउने छौं । स्क्रिप्टले छोएपछि फिल्ममा आबद्ध भएको हुँ । दर्शकलाई पनि फिल्मले छुनसक्छ ।’
Most Visited News (monthly)