
अभिनयमा पारंगत मानिने अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक स्क्रिन शेयर गर्ने भएका छन् । फिल्म ‘गणपति’ मा उनीहरुले सँगै काम गर्न लागेका हुन् । दुवैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । पुष १४ गते फिल्मको काठमाडौं नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको दृष्य लन्जमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिँदैछ ।
सविन अधिकारीले निर्देशन गर्ने फिल्ममा सूर्यमाला शर्मा, राजाराम पौडेल, लक्ष्मी गिरी, कालु राना, प्रकाश घिमिरे, देवेन्द्र बब्लू, श्रीदेव विएललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अविगम्यान फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन् । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई लिएर मुकुन र मेनुका उत्साहित देखिएका छन् ।
कोरोनाका कारण ९ महिनादेखि फिल्म निर्माण र प्रदर्शन ठप्प थियो । सरकारले छायांकन अनुमति दिएपछि भने फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । दशैंदेखि एकपछि अर्को फिल्मको छायांकन भइरहेका छन् भने फिल्म निर्माणको घोषणा पनि बढ्न थालेको छ । फिल्म क्षेत्रलाई थप सक्रिय बनाउन ‘गणपति’ को निर्माण घोषणा गर्न लागिएको निर्देशक अधिकारीले बताएका छन् ।

