Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपलाई प्रश्न- म्यूजिक भिडियो खेलेर स्टारडम कमजोर हुन्छ ?

फिल्मीखबर, काठमाडौं, 2020/12/28
 
कोरोना भाइरसका कारण करीब ९ महिना फिल्म निर्माण ठप्प भयो । यो समयमा म्यूजिक भिडियो निर्माणमा भने बाढी आएको थियो । फिल्ममा अभिनय गर्दै आएका धेरै कलाकारले लकडाउनमा आर्थिक सहायताका लागि म्यूजिक भिडियोमा काम गरे । अभिनेता प्रदीप खड्का पनि यसबाट अछुतो रहन सकेनन् । उनले लकडाउनमा दुईवटा म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
 
उनले अभिनय गरेका दुई गीत ‘सुनौलो विहानी फर्किनेछ र जय जय नेपाल’ यूट्युबमा उपलब्ध छन् । तर, यी दुवै गीतले यूट्युबमा औसत भ्यूज पाए । यी दुई गीतपछि भने प्रदीपले नयाँ म्यूजिक भिडियोमा काम गरेका छैनन् । स्टारडममा असर गर्ने डरले उनले म्यूजिक भिडियो नगरेको टिप्पणी पनि भइरहेको छ । तर, म्यूजिक भिडियो खेलेर स्टारडम कमजोर नहुने उनी तर्क गर्छन् ।
 
उनी भन्छन्, ‘एउटा कलाकारले अभिनय गरेर स्टारडम कमजोर हुन्छ भन्ने म मान्दिनँ । स्टारडम कुन बेला कमजोर हुन्छ भने उसले व्यक्तिगत जीवनमा गर्ने चिज र गलत काम गर्छ भने मात्र स्टारडम कमजोर हुन्छ होला । अन्यथा अभिनय गर्दैमा स्टारडम कमजोर हुन्छ जस्तो लाग्दैन ।’ आफूले म्यूजिक भिडियोमा काम गर्दै आएको भए पनि कमर्शियल रुपमा नगरेको उनी बताउँछन् । 
 
कमर्शियल म्यूजिक भिडियो नगर्नुको कारणबारे प्रदीप भन्छन्, ‘धेरै जनासँग राम्रो चिनजान छ । एक जनाको भिडियो गरेपछि कसलाई नाईं भन्ने, कसलाई हुन्छ भन्ने । कसैको चित्त नदुखाऊ भन्नका लागि कमर्शियल म्यूजिक भिडियो नगरेको हुँ ।’ आफूमा गीत छान्ने क्षमता नभएको पनि उनको भनाई छ । उनी माघबाट फिल्म ‘प्रकाश’ को छायांकनमा व्यस्त हुने तयारीमा छन् । 
Most Visited News (monthly)