Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ फिल्म प्रदर्शनका लागि पहल गर्नुपर्छ : ऋचा शर्मा

फिल्मीखबर, काठमाडौं, 2020/12/27
कोरोनाका कारण ९ महिनादेखि बन्द रहेका सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । केही सिनेमा हल प्राविधिक कारणले सञ्चालन हुन नसके पनि प्रायः हलले एक जना दर्शकलाई पनि फिल्म देखाएका छन् । निर्माताहरुले नयाँ फिल्म प्रदर्शन गर्ने जोखिम नउठाउँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण तयार गर्दैछन् ।
 
कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा र सेन्टी भाइरस’ प्रदर्शन गर्दै शुक्रवारबाट सिनेमा हल खुलेका हुन् । तर, फिल्म हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक छैन । नयाँ फिल्म प्रदर्शन नभएका कारण हलमा दर्शकको चाप नभएको हल सञ्चालकहरुको भनाई छ । केही समयपछि निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार हुनेमा उनीहरु विश्वस्त छन् । 
 
 
सिनेमा हल खोल्ने निर्णय सरकारले गरेको भने होइन । सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि नेपाल चलचित्र संघले एकतर्फी रुपमा सिनेमा हल खोलेको हो । संघको यो निर्णयमा एकाधबाहेक प्रायः फिल्मकर्मीहरुले ऐक्यवद्धता जनाएका छन् । अभिनेत्री ऋचा शर्मा शर्माले सिनेमा हल खुलेमा खुसी व्यक्त गर्दै फिल्मकर्मीका लागि सिनेमा हल मन्दिर रहेको बताएकी छन् ।
 
शुक्रवार काठमाडौं सुनधारास्थित सिभिल मलमा फिल्म ‘सेन्टी भाइरस’ हेरेपछि उनले भनिन्, ‘सिनेमा हल खुल्दा एकदमै खुसी छु । तर, यसमा सरकारको साथ भइदिएको भए हुन्थ्यो भन्ने लागेको छ । अन्य क्षेत्र खुलिसकेका छन्, सिनेमा हल पनि खुल्नु पर्छ । अहिले सिनेमा हल खुलेर भोली नै हाउसफुल वा ब्लकबस्टर हुने होइन । यसले हल पनि खुलेको छ भन्न सन्देश प्रवाह गर्छ ।’
 
सिनेमा हलले दर्शकको स्वास्थ्यलाई विशेष ध्यान दिएका कारण फिल्म हेर्न आउँदा डराउनु नपर्ने उनको भनाई छ । अन्य क्षेत्रभन्दा सिनेमा हलमा सबैभन्दा बढी स्वास्थ्य सुरक्षा अपनाउन सकिने उनी बताउँछिन् । सिनेमा हलमा आएर फिल्म हेर्नुको मज्जा अरुमा नपाइने बताउँदै उनले हलमा दर्शक आउने वातावरण बनाउन नयाँ फिल्म प्रदर्शनका लागि पनि पहल गर्नुपर्ने बताएकी छन् ।
Most Visited News (monthly)